कोरोना बढेसंगै नेपालगन्जको बाल मन्दिरमा आईसोलेसन सुरु


कोरोना बढेसंगै नेपालगन्जको बाल मन्दिरमा आईसोलेसन सुरु

नेपालगन्ज ११ भदौ : कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकाले कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि बाल मन्दिरमा शुक्रबारदेखि आईसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितीमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अक्सिजन सहितको ५० शैयाको आईसोलेसन केन्द्रको उद्घाटन गरे ।

सो अवसरमा नगर प्रमुख डाक्टर राणाले आईसोलेसन वार्डमा आवश्यकतामा आधारमा सइया थप गर्ने बताए । महिलाका लागि छुट्टै व्यवस्थापन गर्न लागिएको उनले बताए ।

उपप्रमुख उमा थापा मगरले नेपालगन्जले सीमाक्षेत्र भएर आउनेहरुका लागि समेत ध्यान दिएर आईसोलेसन सञ्चालन गरेको भन्दै सम्पूर्ण स्थानीय तहले तत्काल आईसोलेसन केन्द्र सञ्चालन गर्न सुझाव दिए ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले केन्द्रमा शनिबारदेखि नै संक्रमितहरुलाई राखिने जानकारी दिए । हाल सीमा नाकामा दैनिक परीक्षणमा संक्रमित हुनेहरु बढ्न थालेका छन् । उनीहरुलाई घरसम्म सुरक्षित फर्काउने व्यवस्थापन नभएसम्म केन्द्रमा राखिने भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी गेलाल, नेपाल बाल संगठन बाँकेका अध्यक्ष दत्तप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोबद्र्धनसिंह सम्झना, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोभिड रोकथाम र नियन्त्रणमा नेपालगन्जले गरेको अगुवाईको प्रशंसा गरे ।