धन र मन दुवै भएकी समाजसेवी निरुपमा

जो घरबाटै रकम खर्चेर महिलाहरुलाई आत्मनिर्भर बनाउन चाहन्छिन्


दामोदर भण्डारी दामोदर भण्डारी   आइतबार, भदौ १३, २०७८
धन र मन दुवै भएकी समाजसेवी निरुपमा

नेपालगन्ज १३ भदौ : मन बिनाको धन ठुलो की धन बिनाको मन ।
आकाशैमा उडिजाने ए चरी भन ।।

समाजसेवामा लाग्न मन धेरैलाई लाग्छ । मन भएर के गर्नु कतिपयसँग धन हुँदैन । धन भएकाहरुसँग मन हुँदैन । तर धन र मन दुवै भयो भने के होला सहजै अनुमान गर्नुस् त ..... ।

नेपालगन्जमा एक जना यस्ती महिला छन् जो सँग जति धन छ त्यति नै ठुलो मन पनि छ । त्यसैले त उनी एक दशक भन्दा बढी समयदेखि अनवरत समाजसेवामा लागेकी छन्, त्यो पनि महिला उत्थानका लागि । उनको अठोट नै छ घरबाट रकम खर्चेर भएपनि महिलाका लागि केही गर्ने ।

ती समाजसेवी महिला हुन् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ निवासी निरुपमा रस्तोगी । मारवाडी परिवारकी निरुपमा बिजनेशम्यानकी श्रीमती हुन् । उनको औषधीको थोक बिक्रेता राज डिष्टिव्युटर्स छ । तर, उनमा अचम्मको स्वभाव छ । अरुको सेवा गर्न पाउँदा आफुलाई खुशी लाग्ने ठान्छिन् उनी । घरमा उनको २ छोरा र श्रीमान छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

१२ वर्षदेखि महिला उद्यमी सँघ (विन) मा लागेर महिला उत्थानमा सेवा गरिरहेकी निरुपमाले बाँकी जीवन हरेक तह तप्काका दबिएका, पिछडिएका महिलाहरुको हकहितमा विताउने विचार व्यक्त गरिन् ।

निरुपमा हालै सम्पन्न अधिबेशनबाट महिला उद्यमी सँघ बाँकेको अध्यक्ष भएकी छन् । यस अघि महिला उद्यमी संघ बाँकेको प्रथम उपाध्यक्ष हुँदा उनले महिलालाई आत्मनिर्भर बनाउन आफ्नै खर्चमा पापड, अचार र मास्क बनाउने लगाएतका विभिन्न तालिमहरु बाँकेका महिलाहरुलाई दिइसकेकी छन् ।

‘म आफ्नो कार्यकालमा घरबाटै पैसा लगाएर भएपनि महिलाको लागि केही गर्न चाहन्छु ।’ अध्यक्ष निरुपमाले सेतोखरीसँग भनिन् ‘मेरो जीवनको ईच्छा नै सेवा गर्ने हो, संस्थाका सबै साथीहरुलाई सँगसँगै हिँडाएर सेवामा लाग्ने छु ।’ उनले समाजसेवामा आफुले घरबाट धेरै रकम खर्च गरिसकेको पनि बताइन् ।

अध्यक्ष निरुपमाले हरेक महिला आफ्नो खुट्टामा उभिएर आफै केही गर्न सक्नु नै ठुलो कुरा रहेको बताउँछिन् । ‘हामी त्यसैका लागि लागि परेका छौं ।’ उनले भनिन् ‘हामी त्यस्तो महिलाको खोजीमा छौं जसले केही गर्न सकिरहेका छैनन् । उनीहरुलाई आत्मनिर्भर बनाउन लागि पर्ने छौं ।’

महिला उद्यमी संघले महिलाहरुको उत्थानका लागि काम गर्ने गर्छ । महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा कोसेली घर पनि संचालन गरेको छ । महिलाहरुले घरमा बनाएका विभिन्न मालसामान देखि लिएर सिन्की, मस्यौरा, अचार लगायतका खानेकुरा कोसेली घरमा पाइन्छ ।