File Photo
नेपालगन्ज १४ भदौ : देशभर ४३ लाख ९६ हजार ४०२ जनाले कोरोना विरुद्धको दुबै डोज खोप लगाएकाछन् ।
कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले सञ्चालन गरेको खोप अभियानमार्फत देशभरका ४३ लाख ९६ हजार ४०२ जना लाभावन्तित भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सोमबारसम्म ४३ लाख ९६ हजार ४०२ जना व्यक्तिले कोरोना विरुद्धको दुबै डोज खोप लगाएका हुन् ।
त्यसैगरी एक डोज खोप लगाउने व्यक्तिको संख्या ५३ लाख १७ हजार ४८३ पुगेको छ । नेपालमा अहिलेसम्म कूल जनसंख्याको झण्डै १४ प्रतिशतले पूर्णडोज र १७ प्रतिशत जनसंख्या पहिलो डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयले तथ्यांकले देखाएकोछ ।
नेपालमा गतवर्ष माघ १४ गतेदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिसकेको हो । पहिलो चरणमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मीलाई खोप दिइएको थियो ।
हालसम्म ५० वर्षभन्दा माथिका नागरिक, बैंक, सार्वजनिक यातायातका चालक, सहचालक, विभिन्न विश्वविद्यालयका परीक्षामा सामेल हुने विद्यार्थीहरु, पत्रकार, विभिन्न कारणले वैदेशिक यात्रामा जाने व्यक्ति, शरणार्थीलगायतले खोप पाइसकेका छन् ।
नेपालमा कोरोना विरुद्धको तीन प्रकारका खोप प्रयोग गरिएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतमा बनेको कोभिसिल्ड, जापानबाट अनुदानमा आएको एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप प्रयोग भइरहेको छ ।
कोभिसिल्ड र एस्ट्राजेनेका खोप एउटै फर्मुलामा बनेको खोप हो । सोही कारण पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथि नागरिकलाई दोस्रो मात्राको रुपमा स्ट्राजेनेका खोप दिइएको हो ।