बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार तालिम


बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार तालिम

नेपालगन्ज १७ भदौ : बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश उपचार सम्बन्धि तालिम प्रदान गरिएकोछ । सर्पदंशका विरामीको मृत्यु दर घटाउने उदेश्यले बाँकेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी नेपालगन्जमा तीन दिने सर्पदंश व्यवस्थापन तालिम प्रदान गरिएको हो ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेरमेडको सहयोगमा भेरी अस्पताल परिसरमा सञ्चालन गरिएको सो तालिममा चिकित्सक तथा स्वास्थ्यकर्मी गरि २० जनाको सहभागिता रहेको थियो । भेरी अस्पतालका एनेस्थेसिया विभागका डाक्टर पारश पाण्डेका अनुसार वर्षातको महिनामा तराईका जिल्लाहरुमा सर्पदंशका विरामी दिनहुँ बढ्ने क्रम रहेको अवस्थामा उपचारको लागि नजिकको अस्पताल वा स्वास्थ्य संस्था जाने र सबै स्वास्थ्य संस्थामा सर्पदंशको विरामी उपचारको लागि दक्षता नहुँदा मृत्युदर बढ्ने भएकोले तालिमको आयोजना गरिएको हो ।

तालिममा सर्पदंशका विरामीको मृत्युदर घटाउने र सर्पले डसेमा प्राथामिक उपचार कसरी गरि सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पठाई विरामीको ज्यान बचाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । पहिलो चरणमा कैलाली, बर्दिया, बाँके, दाङ्ग, कपिलबस्तुका सरकारी अस्पताल, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज वा ठूला स्वास्थ्य संस्थाबाट १५ जना र भेरी अस्पतालबाट ५ जना गरि २० जना तालिममा सहभागि गराईएको थियो ।

भेरी अस्पतालमा यो वर्षको वर्षात सुरु भएपछि मात्र सर्पले डसेका विरामी उपचारको लागि २ सय ५० जना रहेको र यी मध्ये ३५ जनालाई आईसीयुमा राखेर उपचार गरिएको छ । भेरीमा उपचारको क्रममा आउँदै गर्दा बाटोमा ३ जनाको, उपचारको क्रममा आईसियुमा १ जना र ईमेरजेन्सीमा १ जना गरी ५ जनाको मृत्यु भईसकेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना भाइरस संक्रमणका कारण गत बैशाख २७ गतेदेखि बाँकेको खजुरामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा सर्पदंशका विरामीको उपचार गर्ने व्यवस्था गरिएको थियो । सो अस्पतालमा समेत १ सय २२ जनाको सफल उपचार भई घर फर्केका छन् । उपचारको लागि आएका मध्ये २० जना विषालु सर्पले डसेका विरामी रहेको अस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

उनले अस्पतालमा आएका मध्ये १४ जना करेट सर्पले डसेको, ५ जना गोमन कोब्रा र १ जना रसेल भाइपरले डसेका विरामी रहेका थिए । उपचारको लागि आएका ६ जना विरामीलाई भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो ।