बाँकेमा विद्यालय खोल्न स्थानीय तहलाई जिम्मा


बाँकेमा विद्यालय खोल्न स्थानीय तहलाई जिम्मा

नेपालगन्ज १७ भदौ : कोरोना भाइरस संक्रणका कारण लामो समयदेखि बन्द रहेका बाँकेका शैक्षिक संस्था खोलिने भएकाछन् । जिल्ला प्रशासन कार्यालय बाँकेले ‘स्मार्ट लकडाउन’को अवधारणा अवलम्बन गर्दै बाँकेका विद्यालय खोल्न अनुमति दिएपछि बाँकेका विद्यालय खुल्ने भएका हुन् ।

‘स्मार्ट लकडाउन’को अवधारणा अघि सारेर बाँके प्रशासनले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गर्दै बाँकेमा कोभिड–१९ संक्रमणको दर क्रमशः घट्दै गएको भएपनि जोखिमको सम्भावना कायम नै रहेको र सो को रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) एवम जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको भदौ १७ गते बसेको बैठकको विश्लेषण तथा सिफारिसका आधारमा बाँके जिल्लाभर लागु हुने गरि भदौ १८ गतेदेखि अर्को आदेश जारी नभएसम्म कायम रहने गरि स्मार्ट लकडाउन लागु भएको जनाएकोछ ।

स्मार्ट लकडाउनमा चार वटा तह रेड, मिस्क, एलो र ग्रिन जोनको निर्धारण नम्बरका आधारमा विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगन्ज उपमहानगरपालिका एलो र अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाले स्कूल खोल्ने सम्बन्धमा निर्णय गरेर डीसीसीएमसी बैठकमा पेस गर्न भनिएको छ । अरु पालिकाको हकमा पालिकाले स्कूल खोल्न सक्ने छन् ।
अबका दिनमा स्थानीय तहले जोखिम मूल्यांकन गरेर सिफारिस गरेपछि डीसीसीएमसीले लकडाउन गर्ने भनिएको छ । यसअघि कही कतै जोखिम देखिने वित्तिकै जिल्लाभरी नै निषेधाज्ञा या लकडाउन गर्ने गरिएको थियो । अबका दिनमा सम्बन्धित पालिकालाई मात्रै निषेधाज्ञा या लकडाउन गर्ने रणनीति बनाइएको छ ।

जनजीवनमा सहज बनाउदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले शुक्रबार (भोली) नै बैठक बसेर नगरको विद्यालय सञ्चालन सम्बन्धमा सिफरिस गरिने बताइन् । कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि गत बैशाख १३ गते देखि बाँकेमा निषेधाज्ञा जारी छ ।