आईतबारबाट सिफ्ट प्रणाली लागु गरि खजुराका विद्यालय सञ्चालन गरिदैँ


आईतबारबाट सिफ्ट प्रणाली लागु गरि खजुराका विद्यालय सञ्चालन गरिदैँ

नेपालगन्ज १८ भदौ : सरकारले ‘स्मार्ट लकडाउन’को अवधाराणा अघि सारेसंगै बाँकेमा जारी निषेधाज्ञा खुकुलो भएकोछ । यसका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिएमसी) बाँकेले बिहीबार बैठक बस्दै जिल्लामा स्मार्ट लकडाउन जारी भएको जनाएकोछ ।

यसैबीच, स्मार्ट लकडाउनको अवधारणामा रही बाँकेको खजुरा गाउँपालिकाका विद्यालय आइतबारदेखि सञ्चालना आउने भएकाछन् ।

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालय आईतबारदेखि पुनः सञ्चालनमा ल्याउन निर्देशन दिदैँ गाउँपालिकाले आवश्यक तयारी गर्न समेत आग्रह गरेकोछ । खजुरा गाउँपालिकाले एक सूचना जारी गरि आईतबारदेखि विद्यालय सञ्चालनका लागि विद्यालयलाई परिपत्र गरेको शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले बताए ।

उनले कोभिड–१९ को जोखिम विश्लेषणको आधारमा विद्यालय सञ्चालन गर्न सकिने देखिएकोले गाउँपालिका भित्र रहेका विद्यालयलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना हुने गरि विद्यालय सञ्चालन गर्न अनुमति दिइएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

कक्षा कोठामा एक साथ विद्यार्थी राख्दा स्वास्थ्य मापदण्ड पालना नहुने भएकोले ‘सिफ्ट प्रणाली’को आधारमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले हाल जिल्लामा कोरोना भाइरस संक्रमण क्रमशः कम हुदैँ गएपनि संक्रमणको जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाउदै स्वास्थ्य सम्बन्धिको मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेकोछ ।

केन्द्रले बाँकेमा स्मार्ट लकडाउनमा चार वटा तह रेड, मिस्क, एलो र ग्रिन जोनको निर्धारण नम्बरका आधारमा विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ । बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगन्ज उपमहानगरपालिका एलो र अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन् ।