सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने


सङ्क्रमणको अङ्कभार ६५ भन्दा बढी देखिए रेडजोनमा राखिने

सुर्खेत २० भदौ : जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्मार्ट लकडाउन कार्यविधिमा तोकिएको अङ्कभार ६५ भन्दा माथि कोभिड सङ्क्रमण देखिएमा त्यस्ता स्थानीय तहलाई रेडजोनमा राख्ने बताएको छ ।
जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अङ्कभारभन्दा माथि कोभिड सङ्क्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख गरिएको बताए ।

अधिकृत वाग्लेले भने, ‘वीरेन्द्रनगरको अङ्कभार ६६ छ। भेरीगङ्गा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ। अङ्कभारका लागि दिइएका सूचकमा दुई हप्तामा कोभिड नयाँ सङ्क्रमणको वृद्धि दर, मृत्युदर, बेड क्षमतालगायत रहेका छन् ।’

उनले सुर्खेतका विद्यालय खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको बताए । पञ्चपुरी, लेकबेँसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना सङ्क्रमण न्यून भएकाले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने उनको भनाइ छ ।

मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासङ्घ र शिक्षक अभिभावक सङ्घ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आगामी सातादेखि सुर्खेतका सबै सामुदायिक र संस्थागत विद्यालय खुल्ने बताए ।

स्वास्थ्य सङ्क्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगङ्गा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासङ्घ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने प्रजिअ रिजालले बताए । दुई/तीन दिनभित्र मापदण्ड निर्माण गरी प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उनको भनाइ छ ।

विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना सङ्क्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौमध्ये छवटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधिअनुसार ग्रीन जोनमा परेको र भौतिकरुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगङ्गा तथा गुर्भाकोट नगरपालिका पहेँलो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परे पनि विद्यालय खुलाउने तयारी गरिएको छ ।-रासस