कोरोना कहर : यस वर्षपनि रामलीला मञ्चन नहुने


कोरोना कहर : यस वर्षपनि रामलीला मञ्चन नहुने

रामलीला मञ्चनका लागि स्टेज तयार पारिदैँ । फाईल तस्विर : सेतोखरी

नेपालगन्ज २० भदौः कोरोना कहरका कारण पश्चिम नेपालमै परिचय बनाएको १५४ वर्ष लामो ईतिहास बोकेको रामलीला मञ्चन यस वर्ष पुनः स्थगित भएकोछ ।

प्रत्येक वर्ष विजयादशमीका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन हुदैँ आएको थियो । तर, कोरोनाका कारण पुनः यस वर्ष रामलीला मञ्चन नहुने भएकोछ ।

पश्चिम नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस संक्रमणका कारण स्थगित गरिएको हो । गतवर्षदेखि भौतिक रुपमा रामलीला मञ्चन गरिएको छैन ।

यसपाली विजयादशमी असोज २९ गते परेको छ । भने घटस्थापना असोज २१ गते परेकोछ । कोरोनाका कारण भेला, महोत्सवहरु गर्न नमिल्ने भएका कारण यसपाली रामलीला मञ्चन पुनः मञ्चनमा रोक लगाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई प्रतिकात्मक रुपमा भने केही कार्यक्रमहरु गरिने तयारी गरिएको छ । शनिबार बसेको रामलीला सञ्चालक समितिको बैठकले के कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने बारे निक्र्यौल गर्न उपसमिति समेत निर्माण गरेकोे छ ।

सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कनोडीयाको अध्यक्षतामा बसेको बैठकले व्यापक परामर्श गरेपछि तयारी स्वरुप नन्दलाल वैश्यको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमिति मार्फत आएको सुझावका आधारमा कार्यक्रम गर्ने निर्णय गरिएकोछ ।

रामलीला सञ्चालन गर्न नसकिएपनि रामलीला मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शन लगायतका कार्यक्रम गर्ने बारेमा छलफल गरिएको अध्यक्ष कानोडियाले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्ब–१३ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भब्य र सभ्यरुपमा मनाइदै आएको थियो । जहाँ नेपाल तथा भारतका कलाकारहरुले रामलीला मञ्चन गर्दै आएका थिए । यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएकोछ ।