कोभिड खोप : बाँकेमा ११ हजार बढि ‘ड्रपआउट’

३०६८५ जनाले लगाए एक डोजको जोन्सन खोप


कोभिड खोप : बाँकेमा ११ हजार बढि ‘ड्रपआउट’

नेपालगन्ज २२ भदौ : कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान अन्र्तगत बाँकेमा ११ हजार बढि ‘ड्रपआउट’ मा परेकाछन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएका मध्ये ११ हजार एक सय ५ जना ‘ड्रपआउट’मा परेका हुन् । उनीहरुले बाँकेमै खोपको दोस्रो डोज नलगाएको पाइएको हो ।

कोभिसिल्ड लगाएकाले एस्ट्राजेनिका लगाउने भनिएको र लामो समयको अन्तरमा खोप लगाइएकै कारण धेरैले दोस्रो डोज नलगाएको आशंका गरिएको छ । पहिलो डोज कोभिसिल्ड लगाएकालाई पछि एस्ट्राजेनिका लगाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले पहिलो डोज लगाएको पाँच महिनापछि दोस्रो डोज आएकाले धेरै जना ‘ड्रपआउट’ भएको हुन सक्ने बताए । उनले भने–‘यहाँ पहिलो डोज लगाएकाहरूले अन्यत्र गएर दोस्रो डोज लगाएको पनि हुन सक्छ । त्यसैले यो संख्या ‘ड्रपआउट’मा परेको हो ।’

यसरी बाँकेमा पहिलो डोज खोप लगाएकाहरु अन्यत्र गएर दोस्रो डोज लगाए नलगाएको यकिन गर्ने प्रणाली समेत छैन । तथ्यांक भिडान गर्ने गरि पहिचान गर्ने प्रणाली नभएकै कारण ‘ड्रपआउट’ भएकाहरुले अन्यत्र खोपको दोस्रो डोज लगाएकै हुन भनेर ठोकुवा गर्न सक्ने आधार छैन । यद्यपी कोरोना महामारीमा आफू सुरक्षित हुन र सरकारले चलाएको खोप अभियानको लाभ लिन कोही पनि चुक्दैनन्, त्यसैले पनि उनीहरुले अन्यत्र जिल्लामा खोप लगाएको हुनसक्ने आँकलन गर्न सकिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख शाहका अनुसार बाँकेमा ९२ हजार २ सय ७४ जनाले पूर्ण खोप लगाएका छन् । यो २६ प्रतिशत हुन आउँछ ।

यस्तै बाँकेमा एक लाख ३ हजार ३ सय ७९ जनाले एक डोज खोप लगाएका छन् । एक डोज खोप लगाउने २९ प्रतिशत छन् । तथ्यांकलाई हेर्दा पहिलो डोज लगाएका एघार हजार एक सय ५ जनाले दोस्रो खोप डोज लगाएका छैनन् ।

जिल्लामा कोभिसिल्ड र एस्ट्राजेनिका गरेर ३० हजार ७ सय ६ डोज आएकोमा २४ हजार एक सय ७ जनाले मात्रै दोस्रो डोज लगाए । ६ हजार ६ सयले दोस्रो डोज लगाएनन् ।

बाँकेमा सुरुमा नौ हजार ८ सय ३३ जनाले कोभिसिल्ड पहिलो डोज लगाएका थिए । यिनीहरू ‘फ्रन्टलाइनर’ हुन् । यहीमध्येका ११ हजार १ सय ६३ जनाले दोस्रो डोज लगाए । तर, यसमा दोस्रो डोज लगाउने संख्या थपियो ।

६५ वर्षमाथिका २० हजार ८ सय ७३ जनाले पहिलो डोज लगाए । दोस्रो डोज लगाउने १२ हजार ९ सय ४४ जनामा झरे । ६५ वर्षका ७ हजार ९ सय २९ जनाले दोस्रो डोज लगाएनन् ।

बाँकेमा ४१ हजार ९ सय ८८ जनाले पहिलो डोज भेरोसेल खोप लगाए । ३७ हजार ४ सय ८२ जनाले दोस्रो लगाए । चार हजार ५ सय ६ जनाले दोस्रो डोज लगाएनन् ।

सुरुमा ८ हजार ६ सय ५५ डोज भेरोसेल आएको थियो । त्यसमा ८ हजार ५ सय ३८ जनाले खोप लगाए । एक सय १७ जना दोस्रो खोप लगाउन आएनन् । अर्को पटक ५५ वर्षमाथिका लागि ३३ हजार ३ सय ३३ डोज खोप आयो । यसमा दोस्रो डोज लगाउने २८ हजार ९ सय ४४ जना भए । चार हजार ३ सय ८९ जना दोस्रो खोप लगाउन आएनन् ।

३०६८५ जनाले लगाए एक डोजको जोन्सन खोप

जिल्लामा ३० हजार ६ सय ८५ जनाले जोन्सन खोप लगाएका छन् । एक डोज मात्रै लगाउने भएकाले यसलाई पूर्ण खोप भनिएको छ । पछिल्लो पटक सरकारले १८ वर्षमाथिका अर्थात् १२ कक्षाको परीक्षा दिने विद्यार्थीलाई एस्ट्राजेनिका खोप लगाएको छ ।