नेपालगन्ज २२ भदौ : महिलाहरुको महान चाड तीजको अघिल्लो दिन आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।
दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।
परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।
तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।
यद्यपी सरकारले सामूहिक दर खाने र तीज मनाउन रोक लगाएपनि बाँकेका होटल, कटेज र रेष्टूँरेण्टमा दर खाने कार्यक्रम भ्याइ नभ्याई भएकोछ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरकैबीच जारी निषेधाज्ञा केही खुकुलो भएपनि यस वर्ष तीजको रमझम र चहलपहल खासै छैन ।
दरको रुपमा मद्य र मदिराको विकृति
अहिले वास्तविक संस्कृति अनुसार दरको रुपमा के–के परिकार पकाइन्छ ? भन्ने कुरा धेरैलाई जानकारी हुन छाडेको छ । अहिलेको विकृतिले दरको रुपमा मांस(मासु) र मदिरालाई समेत समेटेको छ । तर, परम्परागत तीजको दरलाई हेर्ने हो भने यो मांस बर्जित र केवल दुग्ध पदार्थको बाहुल्यता रहेको खाना दरको रुपमा विशेष थियो ।
पोषणविद्हरु पोषण र मौलिकताको हिसाबले पनि मांस र मदिरा दरसँग मिसाउनु उपयुक्त नरहेको दाबी गर्छन् । मांस र मदिरा तीजको अघिल्लो दिन खानै बर्जित छ । यो अधिकांश पहाडी भेगमा अहिले पनि बर्जित छ, यसको पछि वैज्ञानिक कारण पनि छ ।
पोषणविद्का अनुसार पहाडी संस्कृति अनुसार व्रत बस्ने अघिल्लोदिन मांस सेवन बर्जित छ । दोस्रो कुरा भोलिपल्ट निर्जला व्रत बस्नेहरुको लागि दूधजन्य परिकारहरु खिर, कुरौनी आदि जति पोषिलो र भोलिपल्टसम्मको लागि ऊर्जा प्रदान गर्ने खालको हुन्छ, त्यति शक्ति मासुमा नपाइने भएकोले दरमा मासुको प्रयोग उचित हुँदैन ।
सामान्यतया दरको रुपमा खाने परिकार भनेको दूध हालेर तयार पारिएको ढकनी, चाम्रे, कुरौंनी आदि हुन् । कसैले खिर खान्छन् भने कसैले ढकनी र चाम्रे खाने गर्छन् ।
परापूर्वकालदेखि दरको रुपमा जे खानेकुरा खाइन्थ्यो ती खानेकुराहरु अहिले पनि महिलाहरुको लागि एक्सपेन्सिभ र लक्जरियस खानेकुरामा गनिन्छ । जुन वैज्ञानिक हिसाबले पेटको स्वास्थ्यलाई ध्यान दिएर तयार पारिएका परिकारहरु हुन् । जस्तो सुरुमा घिउ र दूधको परिकार खाइन्छ, त्यसले पाचन प्रणालीमा समस्या निम्त्याउन सक्ने भएकोले अन्तिममा दही खाएर पाचन प्रक्रिया सवल बनाउने गरिन्छ । जुन घिउ र दूधबाट बनेको ढकनी लगायतका खानेकुराहरु छन्, त्यसले सिंगै एकदिनभरका लागि मान्छेलाई तागत दिने शक्ति राख्छ त्यसैले पनि दरको रुपमा बढी दूधजन्य खानेकुरा खाने गरिएको पाइन्छ ।