नेपालगन्ज २४ भदौ : भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
एक महिना अघिदेखि तीजको रमझम शुरु भएपनि पुनः यसपटक कोरोना भाइरस संक्रमणका कारण खल्लो बनाएको छ ।
तीजको अवसरमा बिहानैदेखि विवाहित महिला र अविवाहित किशोरीले निराहार ब्रत लिन्छन् । तीजका अवसरमा विभिन्न नाँचगान गरी रमाईलो गर्ने चलन छ । यसै अवसरमा नेपालगन्जको बागेश्वरी मन्दिर, खजुरा, कोहलपुर, राँझा लगायत क्षेत्रमा नाँचगान हुनेगर्छ । तर, पुनः कोरोना भाइरस संक्रमणका कारण यस वर्षको तीज प्रभावित बनेकोछ ।
आफ्नै टोलमा समेत महिलाहरु जमघट भएर तीजको नाच नाच्न पाएका छैनन भने मन्दिर जान बन्देज लगाइएकोछ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पती पाउने बरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको ईच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् । सखी पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने छैन । व्रतका तीन किसिम रहेका छन् । ती हुन् निराहार, जलाहार र फलाहार । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुुन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।
आजकल तीजको धार्मिक मान्यता र मर्ममाथि प्रहार भएको छ । तीज महिला मुक्तिको पर्व हो । तर, आजकल धार्मिक मान्यता एकातिर तीजको संस्कार अर्कोतिर भएको छ । तीज आफ्ना आत्मीय माईतीको घरमा होइन होटल रेष्टुरेण्टमा मनाउन थालिएकोछ ।
बदलिँदो समयमा यो संस्कारलाई पनि हामीले स्वागत गर्नुपर्ने हो की ? व्यस्त जीवनशैलीमा हामी मान्छेहरुलाई घरमा खाना पकाउन फुर्सद नहुँदा अब बिहान बेलुकाको छाक पनि होटलमा खानुपर्ने अवस्था आउँदैछ । तीज देखासिकी तडकभडक तथा गरगहनाको प्रदर्शनमा रुपान्तरण भएको छ । तीजको नाममा अनावश्यक खर्च, भड्किलो व्यापारिक दृष्टिकोणले दिन दुःखी महिलाहरुलाई खुसी होइन पीडा दिएको छ । हिजो आज तीज धार्मिक भावनाले भन्दा मनोरञ्जनको भावनाले बढी मनाइन्छ ।