नेपालगन्ज २६ भदौ : बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएकोछ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार रुकुम पश्चिम र दाङका एक÷एक जना महलिा र पुरुषको मृत्यु भएको हो ।
केन्द्रका फोकल पर्शन तेज ओलीका अनुसार रुकुम पश्चिम काफिकोट गाउँपालिका वडा नम्बर–९ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । भदौ २४ गते नेपालगन्ज मेडिकल कलेजमा पीसीआर गरेपछि त्यही दिन नै भेरी अस्पताल भर्ना गरिएका उनको शुक्रबार राति १० बजे मृत्यु भएको हो ।
यस्तै दाङ लमही नगरपालिका वडा नम्बर–५ की ६५ वर्षीया महिलाको पनि शुक्रबार राति ११ः३० बजे नै मृत्यु भएको छ । भदौ ७ गते दाङमा पीसीआर परीक्षण गराएकी उनलाई १९ गते भेरीमा भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४०८ जनाको मृत्यु भइसकेको छ । भने बाँकेका ३३० जना संक्रमितको मृत्यु भइसकेकोछ ।
यसैबीच, बाँकेमा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको १६५ जनाको पीसिआर परीक्षण गर्दा ११ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा ५६ जनाको परीक्षण गर्दा ९ जना, बागेश्वरी ल्याबमा ७४ जनामा दुई जनामा कोरोना पुष्टि भएकोछ भने कोहलपुर मेडिकल कलेजमा ३५ जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएकोछ ।
हाल बाँकेमा ७९ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ७० जना होम आइसोलेसनमा र नौ जना अस्पतालमा रहेका छन् ।