नेपालगन्ज २७ भदौ : कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरुभएसंगै बन्द भएका नेपालगन्जका विद्यालय आजबाट सञ्चालनमा आएकाछन् ।
गत वैशाख ९ गते निषेधाज्ञा जारी भएपछि नेपालगन्जका विद्यालय बन्द भएका थिए । पछिल्लो समय निषेधाज्ञाले सबै क्षेत्रलाई खुकुलो पारे पनि विद्यालय सञ्चालन गर्न दिइएको थिएन ।
सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि नेपालगन्जका विद्यालय सञ्चालनमा आएका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले भदौ २७ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो । विद्यालय सञ्चालन गर्दा सञ्चालकले स्मार्ट लकडाउनको निर्देशिका बमोजिमका मापदण्ड पालना गर्नु पर्नेछ । विद्यालयमा विद्यार्थी संख्याका आधारमा सिफ्टमा उपस्थित गराउन निर्देशन दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार कुल विद्यार्थीको एक तिहाइमात्रै सहभागी गराएर पठनपाठन गराउनु पर्नेछ । एउटा बेञ्चमा दुई जनामात्रै विद्यार्थी राख्नुपर्ने शाहीले बताए ।
स्मार्ट लकडाउनले विभिन्न केस अनुसार निर्धारण गरेको नम्बरमा कोहलपुर नगरपालिका मिस्क र नेपालगन्ज उपमहानगरपालिका एल्लोमा परेका छन् । अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन् । बाँकेमा रेड जोनमा पर्ने कुनै पालिका छैन ।
यसअघि बाँकेकै खजुरा गाउँपालिकाले भदौ २१ गतेदेखि नै सिफ्ट प्रणाली लागु गरि विद्यालय सञ्चालन गरिसकेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाको आजबाट विद्यालय सञ्चालन गर्ने तयारी गरेपनि थारु समुदायको अट्वारी पर्वका कारण आज र भोली (२७ र २८) सार्वजनिक विदा दिएपछि विद्यालय सञ्चालन भएन ।
यसैबीच, राष्ट्रिय अभिभावक महासङ्घले देशभर कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए । भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।