राष्ट्रिय बाल दिवस मनाउने तयारी


राष्ट्रिय बाल दिवस मनाउने तयारी

काठमाडौं २७ भदौ : ‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यही भदौ २९ गते ५७ औँ राष्ट्रिय बाल दिवस मनाउने तयारी गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा बालअधिकार संरक्षण र सम्वर्द्धनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराइनेछ ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश जारी हुनेछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअलरुपमा मूल समारोह समितिको कार्यक्रम शुभारम्भ गर्नेछन् ।

दिवसका कार्यक्रममा ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक दुई मिनेटको भिडियो निर्माण प्रतियोगितामा उत्कृष्ट तीन भिडियो सार्वजनिक गरी पुरस्कृत गरिनेछ । सडक बालबालिकामुक्त राष्ट्र नेपाल बनाउने अभियानअन्तर्गत सडकदेखि रङ्गशालासम्म कार्यक्रम, अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि रग्वी प्रशिक्षणको पनि दिवसकै दिन शुभारम्भ गरिनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै भदौ ३० गते सातै प्रदेशमा बालबालिकाको सहभागितामा डिजिटल ह्याङआउट कार्यक्रम र कोभिडले पारेको प्रभाव र समाधानका उपायबारे सिर्जनात्मक अभिव्यक्ति प्रस्तुति गराइनेछ । मन्त्रालयका सचिव यामकुमारी खतिवडाले दिवसका अवसरमा बाल अधिकारका क्षेत्रमा नीतिगत समीक्षा र भावी कार्यदिशा तय गर्ने विषयमा पनि छलफल हुने बताइन् ।

उनले बाल अधिकारबारे सञ्चारमाध्यमले उचित स्थान दिन नसकेको गुनासो गरिन् । परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले नयाँ कानूनी व्यवस्थाबमोजिम सबै स्थानीय तहमा बालअधिकार संरक्षणका लागि संरचना स्थापना हुन थालेको जानकारी दिए । -रासस