चीनबाट एकैपटक ४४ लाख डोज भेरोसेल खोप ल्याइयो


चीनबाट एकैपटक ४४ लाख डोज भेरोसेल खोप ल्याइयो

File Photo

नेपालगन्ज १ असोज : चीनबाट एकैपटक ४४ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएकोछ । सरकारले चीनबाट खरिद गरेको कोरोना भाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो । निगमको जहाज दिउँसो २ बजे खोप लिएर आइपुगेको छ ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज हिजो बेइजिङ गएको थियो ।

यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र हिजो खोप ल्याउने बताइएको थियो । तर, पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको हो ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो । जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो । तर, अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ । जसका कारण एकै पटक ४४ लाख डोज खोप नेपाल ल्याउन सकिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो ।

नेपालमा यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका खोप आइसकेको छ ।

असोजमा गाभी मार्फत १ लाख डोज फाइजर खोप आउने छ भने यसैवर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने बताइएको छ । फाइजर मंसिर सम्ममा आउने छ भने मोडर्ना केही समयपछि आउने बताइएको छ ।