नेपालगन्ज १० असोज : भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत बाँके कोहलपुरका २२ वर्षिय युवकको ज्यान गएकोछ । कोरोना संक्रमित भइ अस्पतालमा उपचार गराईरहेका ती युवा आफ्ना कुरुवासंग बोल्दा बोल्दै प्राण त्यागेका हुन् ।
कोहलपुर नगरपालिका वडा नम्बर ५ निवासी ती २२ वर्षिय युवाको शनिबार राती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ । कोभिड वार्डमा कार्यरत एक नर्शका अनुसार युवकको बोल्दा–बोल्दै ज्यान गयो । उनी केहीबेर अघिसम्म आफ्ना कुरुवासँग बोलिरहेका थिए । बोल्दाबोल्दै प्राण त्यागे ।
यही असोज ४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी भोलीपल्ट भेरी अस्पतालमा आएर भर्ना भएका थिए । तर, संक्रमण पुष्टी भएको पाँच दिनमै २२ वर्षका युवकको मृत्यु भयो ।
कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगन्जमा युवक र बृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा २२ वर्षका युवक र ७२ वर्षीय बृद्ध रहेका छन् । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ५ बाँकेका २२ वर्षीय युवकको संक्रमणबाट ज्यान गएको हो ।
यस्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बर्दिया, बारबर्दिया नगरपालिका वडा नम्बर–४ का ७२ वर्षीय पुरुषको पनि कोरोनाले ज्यान गएको छ ।
भेरी अस्पतालमा गत भदौं ३० गते कोरोना पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि शनिबार राती ९ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो ।
योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय कोरोना महामारीलाई सर्बसाधारणले हल्का रुपमा लिइरहेकाछन् । अस्पतालभित्र मृत्यु हुनेको संख्या र अवस्थाले जटिल बनाइरहेको स्वास्थ्यकर्मी बताउँछन् ।