लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’


लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’

काठमाडौं ११ असोज : स्रष्टा लेखनाथ पोखरेलको कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ ।

केही समयअघि नियात्रा संग्रह ‘फकलीको गाउँ’ पाठकमाझ ल्याएका पोखरेलको दोस्रो कृति ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको हो ।

सावित्री पोखरेल प्रकाश रहेको २४० पेजको यो कथा संग्रहमा विभिन्न परिवेशका कथा समेटिएको छ । कृति भित्रै कै एक कथा ‘मार्बल हाउसकी शालिनी’ लाई लिएर पुस्तकको नाम राखिएको छ ।

पुस्तकमा ‘तृष्ण’, ‘ममता’, ‘विद्रोही’, ‘विकल्प’, ‘जन्मकुण्डली’, ‘प्रतिकार’, ‘मार्बल हाउसकी शालिनी’, ‘पुनर्मिलन’, ‘उज्ज्वला’, ‘अन्ततः’, ‘कक्टेल पार्टी’, ‘गृहलक्ष्मी’ र ‘कथा यस्तो पनि’ जस्ता कथाका पन्ध्र गुच्छा समेटिएका छन् । लेखकले आफ्नै गाउँघरका विविध परिवेश र विषयवस्तुलाई टपक्क टिपेर पन्ध्र गुच्छालाई मालामा उनेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कृतिमा लेखकले समुद्रबाट मोती टिपेझैँ टिपेका समाजभित्रका विविध वस्तुलाई उनेर तयार पारेको साहित्यकार खेमनाथ दाहाल बताउँछन् । ‘समाजमा रहेका रिती र विकृतिको अत्यन्तै सरल भाषा र पठनीय शैलीमा कथाकारले समेटेका छन्’, दाहालले भने । कृतिमा स्रष्टाले प्रायशः सबै कथालाई नारी प्रधान कथाका रुपमा प्रस्तुत गगरेकाछन् ।

‘आत्मकथा होस् कि नियात्रा, चाहे त्यो आख्यान नै किन नहोस् । मानिसले अरुको कुरा कहाँ लेख्दछ र ? पात्र र स्थान विशेषको नामकरण जेसुकै गरिएको किन नहोस्, घटना र विषयवस्तुको प्रस्तुति प्रायः आफूसम्बद्ध नै हुने गर्छन् । जे–जति लेखिन्छन्, ती आफ्नै मन–मस्तिष्कमा छरपस्ट भई तम्तयार बसेका, देखेका, सुनेका, जानेका र भोगेका घटना शब्दरुपी अलंकारको रंगले लिपपोत गरेर पस्किइने अव्यक्त मध्येका केही भाव र घटनाक्रम मात्र हुन्’, स्रष्टा पोखरेल बताउँछन् ।

आफ्नो पहिलो कृति नियात्रा संग्रह ‘फकलीको गाउँ’ जस्तै यो कथा संग्रहले पनि पाठकको मन जित्नेमा आफू आशावादी भएको बताउँदै कमी कमजोरीलाई सुझाव र सल्लाह उपलब्ध गराइदिन उनले आग्रह गरे । पत्रकार/लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण र भाषा विन्यास रहेको छ ।

स्रष्टा पोखरलेका विभिन्न पत्रपत्रिकामा नियमित वंग्यात्मक लेख, कथा र नियात्रा प्रकाशन हुँदै आएका छन् । उनको अर्को कृति प्रेत लेखक (हास्य निबन्ध) पनि पाठक माझ आउने तयारीमा रहेको छ ।