नेपालगन्ज: जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि बाटोमै म्याद गएको खुलासा भएको छ ।
जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी अवस्थामा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्या भएको हो ।
गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा झाडापखाला, टाइफाइट, ज्वरोजस्ता समस्या देखिन थालेपछि औषधि अभाव हुन नदिन जिल्लाका मुख्य–मुख्य ठाउँमा तयारी हालतमा राखिएको औषधि नै म्याद गुज्रेको पाइएको छ ।
जिल्लाका सात वटा स्थानीय तहमा स्वास्थ्य कार्यालय, जाजरकोटले पठाएको औषधिले बाटोमै म्याद नाघेका हो । अधिकांश औषधिको म्याद हप्ता दिन मात्र बाँकी रहेको छ भने केही औषधिको म्याद सकिएको पाइएको छ ।
स्टासेफ नामक औषधि बढी म्याद गुज्रेको पाइएको नगरस्वास्थ्य शाखा नलगाड नगरपालिकाका प्रचण्ड कार्कीले जानकारी दिए । नलगाड नगरपालिकाको दल्ली, लहँ र चौखामा पठाएको औषधिमा म्याद गुर्जेको खबर आएको कार्कीले बताए । ‘बाटोमै म्याद गुज्र्रेको औषधि जम्मा गरेर राख्न र प्रयोग नगर्न भनिएको छ, स्वास्थ्य कार्यालयबाट आएको औषधिमा त्यस्तो समस्या छ,’ उनले भने ।
जाजरकोटका दुर्गम गाउँमा पठाएको औषधि त्यस्तो भएमा तत्काल वितरण रोक्नका लागि पहल गर्ने स्वास्थ्य प्रमुख गौरव ढकालले बताए ।’ सबै ठाउँमा सो औषधि पठाएको छ, म्याद गुज्र्रेको भए तत्काल रोक्ने पहिलो काम हुनेछ,’ उनले उल्लेख गरे ।
गर्मी मौसम शुरु भएसँगै जिल्लाका अधिकांश ठाउँमा बिरामीको चाप बढेको छ । औषधि कम हुन नदिनका लागि पठाएका औषधि बाटोमै म्याद गुज्र्रेपछि कसरी उपचार गर्ने भनेर समस्यमा परेको स्वास्थ्य चौकी चौखाले बताएको छ । औषधि वितरण गर्दा ध्यान नदिएको भन्दै नागरिक अगुवाले आक्रोश व्यक्त गरेका छन् ।
मानव स्वास्थ्यमाथिको वेवास्ता गरिएको भन्दै नागरिक अगुवा राजेन्द्रविक्रम शाहले भने, ‘वर्षौंदेखि स्वास्थ्य कार्यालयले म्याद गुज्रेका औषधि वितरण गर्दै आएको थियो । अहिले पनि स्थानीय सरकारलाई साछी राखेर औषधि वितरण भएको छ, यो चरण अमानवीय खेल हो ।’