नेपालगन्ज १४ असोज : देशभर थप एक हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ७६५ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको पीसिआर परीक्षण गर्दा ८९८ र तीन हजार २१० जनाको एन्टीजेन परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप ९११ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर १८ हजार १६८ जना सक्रिय संक्रमित रहेकाछन् । तीमध्ये १६ हजार ८०२ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३६६ संक्रमित छन् भने ३५३ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २३८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८९ हजार ३८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।