स्वास्थ्य क्षेत्रमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ठ


स्वास्थ्य क्षेत्रमा डुडुवा गाउँपालिका बाँकेमा उत्कृष्ठ

डुडुवा (बाँके) १६ असोज : बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्पादनमा उत्कृष्ट काम गरेको पाइएको छ । डुडुवाले प्रदान गर्ने स्वास्थ्य सेवाका बारेमा जिल्लाले गरेको मूल्यांकनमा सबै भन्दा बढी ७६ अंक ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताए ।

उनका अनुसार मूल्याकनका क्रममा पालिकाले स्वास्थ्य सेवा अन्र्तगत विभिन्न सूचकको आधारमा उत्कृष्ट देखिएको हो । प्रमुख शाहले बाँके जिल्लामा डुडुवाले विगतका वर्षदेखि नै स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएकोले त्यसले स्वास्थ्य सेवामा सुधार ल्याएको र विरामीलाई सेवा लिन सहज भएको बताए ।

स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको दुई दिने जनस्वास्थ्य क्रियाकलापबारे जिल्लास्तरीय वार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढालाई उत्कृष्टताको कदर पत्र प्रदान गरे । सो अवसरमा डुडुवा स्वास्थ्य शाखा प्रमुख बुढाले पालिकामा सञ्चालन गरिएका स्वास्थ्य सेवा तथा कार्यहरुका बारेमा जानकारी गराएका थिए ।

डुडुवा गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गर्दै आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

अहिले पालिकाका तीन वटा स्थानमा निःशुल्क प्रयोगशाला, जेष्ठ नागरिक गाउँपालिका अध्यक्ष कार्यक्रम, दुई वटा एम्बुलेन्सको व्यवस्था, सबै स्थानमा सुविधा सम्पन्न आधारभुत सेवा, टाढा तथा सेवाबाट बञ्चितीकरणमा परेको गाउँमा दुई वटा थप स्वास्थ्य एकाइको स्थापना, नेपाल सरकारले उपलब्ध गराउने औषधी बाहेक थप मधुमेह, प्रेसर, तथा जटिल रोगको उपचारका लागि निःशुल्क औषधीको व्यवस्था, गाउँघर क्लिनिक, खोप, प्रसुती सेवा र स्वास्थ्य समस्या आउने वित्तिकै घरमै स्वास्थ्यकर्मीद्धारा सेवा प्रदान जस्ता कार्यक्रम गर्दै आएको डुडुवाले जनाएको छ ।

यसैगरि बाँके जानकी गाउँपालिका दोस्रो र खजुरा गाउँपालिका तेस्रो स्थानमा मूल्याकंनका आधारमा छनोट भएका छन् । ती दुई पालिकाललाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । जिल्लाका आठवटै पालिकाहरुलाई नेपालगन्जमा बोलाएर आर्थिक वर्ष ०७७–०७८ मा गरेका कार्यहरुको प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।

कोरोना महामारीकाबीच पनि आमा सुरक्षा, नवजात शिशु सुरक्षा, क्षयरोग निवारण, कुष्ठरोग लगायतका स्वास्थ्य सेवामा राम्रो सुधार भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले हरेक वर्ष जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यसम्पादन गर्ने पालिकाको सूचकको आधारमा मूल्याकंन गर्दै आएको छ ।