१८ वर्ष मुनिका बालाबलिकालाई दशैंलगत्तै कोरोना खोप


१८ वर्ष मुनिका बालाबलिकालाई दशैंलगत्तै कोरोना खोप

नेपालगन्ज १७ असोज : १८ वर्ष मुनिका बालबालिकालाई दशैंलगत्तै कोरोना भाइरस विरुद्धको खोप दिइने भएकोछ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिने बताएका हुन् ।

आईतबार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताए । १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चित भइसकेको बताउँदै राज्यमन्त्री श्रेष्ठले ४० लाख मोडेर्ना र ६० लाख फाइजरको खोप खरीदको व्यवस्था गरिएको बताए ।

दशैँलगत्तै फाइजरको १ लाख खोप आउने उनले जानकारी दिए । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने राज्यमन्त्री श्रेष्ठले बताए । ‘यो दशैँलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक–पटक गरेर फाइजर र मोडेर्ना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ’ उनले भने ।

कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा खटिँदा मृत्यु भएका स्वास्थ्यकर्मीको बालबच्चालाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने पनि उनले जानकारी गराए । कार्यक्रममा बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनले कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

फाउण्डेशनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बुद्धिष्ट चुजी च्यारिटी फाउण्डेशनका नेपाल प्रतिनिधि महेश नकर्मीले जानकारी दिए ।