उपमहानगरपालिकामा पहिलो औषधी उद्योग

आगामी वर्षदेखि उत्पादन शुरु हुने


उपमहानगरपालिकामा पहिलो औषधी उद्योग

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्र पहिलोपटक औषधी उत्पादन केन्द्र सञ्चालनमा आउने भएकोछ । उपमहानगरपालिका वडा नम्बर १४ भवनीयापुर स्थित तीन विघा जमिनमा उक्त औषधी उत्पादन केन्द्र सञ्चालनमा आउनेभएको हो ।

यो सगैं जिल्लामा औषधी उत्पादन गर्ने संख्या दुई हुनेछ । यसअघि बाँकेको गनापुरमा पानस फर्मास्युटिकल्सले औषधी उत्पादन गर्दै आएकोछ । आईडियल फर्मास्युटिकल्स कम्पनी प्राली नेपालगन्जले उक्त औषधी उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउने भएको हो । करिब ४० करोडकको लगानीमा उक्त आधुनिक औषधी उत्पादन केन्द्र स्थापना गरिदै छ ।

आगामी वर्ष २०७७को मध्यबाट औषधी उत्पादन तथा बजारिकरण समेत गरिने कम्पनीले जनाएकोछ । हाल कम्पनीले पूर्वाधार निर्माणको कार्यलाई तिव्रता दिइरहेको छ । ‘अहिले पूर्वाधार निर्माणको कार्य भइरहेकोछ,’ कम्पनीका निर्देशक डा. दिनेशकुमार चौधरीले भने–‘स्वास्थ्य क्षेत्रमा आबद्ध विशिष्ट ब्यक्तिहरुको समूहले सो औषधी उत्पादन केन्द्र निर्माण गर्न लागेको हो ।’

डा. चौधरीका अनुसार भौतिक पूर्वाधार निर्माण पहिलो प्राथमिकता दिइएकोछ । पहिलो चरणमा भौतिक पूर्वाधार निर्माणमै झण्डै ४० करोड लगानी हुने अनुमान गरिएको उक्त औषधी उद्योगबाट ट्याबलेट, क्याप्सुल, मल्हम, आँखा र कानमा राख्ने औषधी उत्पादन गरिनेछ ।
‘आवश्यकताका आधारमा थप इन्जेक्सन लगायत औषधी उत्पादन गर्छौं ।’ डा. चौधरीले भने –‘औषधी उद्योग सञ्चालनमा आएपछि यसक्षेत्रका करिब दुई सय जनाले रोजगारी पाउनेछन् ।’

Kanti Aarogya Hospital Nepalgunj

गत २०७० सालमा आईडियल फर्मास्युटिकल्स कम्पनी उद्योग विभागमा दर्ता भएको थियो । ‘डा. कुमारशान शाह र मैले नेपालगन्जबाट गुणस्तरयुक्त औषधी उत्पादन गर्ने उद्देश्यका साथ उद्योग खोलेका छौं’ डा. चौधरीले भने –‘औषधी उत्पादनको मात्रा भन्दा पनि हामी गुणस्तरीय औषधीलाई विशेष प्राथमिकता दिइनेछ ।’

पछिल्लो समय बाँके जिल्लामा औधोगिक उत्पादनका क्षेत्रमा लगानी बढ्दै आएकोछ । गत आर्थिक वर्ष २०७४-२०७५ को एक तथ्याकंले १४ अर्व ६० करोड रुपैयाँ औधोगिक क्षेत्रमा कर्जा प्रबाह भएको पाइएकोछ । बैंक तथा बित्तिय क्षेत्रले आर्थिक वर्ष २०७४-०७५ मा बाँके जिल्ला भर ४६ अर्ब ३६ करोड ६० लाख कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ । जसमध्ये सवैभन्दा बढि औद्योगिक उत्पादनका क्षेत्रमा कर्जा प्रवाह गरेको थियो ।