नेपालगन्ज १९ असोज : झाडापखलाका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर–७, ८ र ९ नम्बर वडामा झाडापखालाको प्रकोप देखिएको छ । झाडापखला लागेकामध्ये दुई जनाको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर– ९ का पाँच वर्षीय राज काश्यप र वडा नम्बर ८ का ४० वर्षीय रामप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यतिबेला झाडापखला प्रकोपले जकडिएको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का बिरामीका कारण स्थानीय अस्पतालले बिरामी थेग्न नसकेपछि शिवराज अस्पतालमा समेत बिरामी आउन थालेको स्थानीयले बताएका छन् ।
शिवराज अस्पताल बिरामीले भरिन थालेपछि जटिल बिरामीलाई तौलिहवा र बुटवल पठाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले बताए ।
प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालय जुटेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यतिबेला सो क्षेत्रमा झाडापखाला कसरी फैलियो भन्ने बारेमा अध्ययन भइरहेको छ ।