अस्पताल बाहिरै झाडापखालाका बिरामी


अस्पताल बाहिरै झाडापखालाका बिरामी

झाडापखलाबाट बिरामी भएकाहरुलाई शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदैछ । तस्विर : रासस

नेपालगन्ज २० असोज : कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभाव भएकोछ ।

झाडापखलाबाट बिरामी भएकालाई उपचार गर्न बेड अभाव भएपछि यतिबेला शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदैछ ।

सो अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डाक्टर मुकेश चौधरीले बताए ।

यसअघि हिजो मङ्गलबार झाडापखलाका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर– ९ का पाँच वर्षीय राज काश्यप र वडा नम्बर ८ का ४० वर्षीय रामप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कृष्णनगर नगरपालिकाको वडा नम्बर–७, ८ र ९ नम्बर वडामा झाडापखालाको प्रकोप देखिएको छ ।

यतिबेला झाडापखला प्रकोपले जकडिएको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का बिरामीका कारण स्थानीय अस्पतालले बिरामी थेग्न नसकेपछि शिवराज अस्पतालमा बिरामी भरिभराउ छन् । शिवराज अस्पताल बिरामीले भरिन थालेपछि जटिल बिरामीलाई तौलिहवा र बुटवल पठाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले बताए ।

प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालय जुटेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यतिबेला सो क्षेत्रमा झाडापखाला कसरी फैलियो भन्ने बारेमा अध्ययन भइरहेको छ ।