बिहिबार, कात्तिक ११, २०७८   ०७:३१:४१

बेनी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प


सेतोखरी   2078-06-20

म्याग्दी २० असोज : तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ बेडको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको छ ।

औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् । उनीहरुले बहिरंग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् ।

नर्स मनदेवी गौतमले चाडपर्व नजिकिएको र लामो समयको बिदा शुरु हुन लाग्दासमेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको बताइन् ।

‘अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,’ उनले भनिन्, ‘अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं । चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो ।’

आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगंगा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउँदा समस्या भएको बताए ।

बिरामी बच्चाको उपचारका लागि आएकी मङगला गाउँपालिका–१ कुहुँकी देवी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको दुःखेसो व्यक्त गरिन् । दृष्टिविहीन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुवेदीले पनि सेवा नलिई घर फर्कदा दुःख मात्र पाएको गुनासो गरे ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिनायता कसैले पनि तलब पाएका छैनन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा नियन्त्रकको कार्यालयले अन्य दुईवटा कार्यालय समेत हेर्नेगरी खटाएका लेखापाल नारायण सुवेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ती गरेर समस्या भएको बताए ।

गण्डकी प्रदेश सरकार मातहतको बेनी अस्पतालमा लेखापालको दरबन्दी नहुँदा लेखा नियन्त्रक कार्यालयले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाइ भएपनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले बताए ।

लेखापाल सुवेदीले भने धेरै कार्यालयको जिम्मेवारी भएको र महालेखा परीक्षकको टोली लेखा परीक्षणमा आएकाले अस्पतालमा समय दिन समस्या भएपनि तलब भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको दाबी गरे । -रासस