भेरी अस्पतालको राजनीति सतहमा, सौन्दर्यकरण कार्य अन्यौलमा


भेरी अस्पतालको राजनीति सतहमा, सौन्दर्यकरण कार्य अन्यौलमा

नेपालगन्ज २० असोज : भेरी अस्पताल र रेडक्रस तथा चिकित्सक संघबीच विवादका कारण भेरी अस्पताल नेपालगन्जको सौन्दर्यकरण कार्य अन्यौलमा परेकोछ ।

दशकौं पुराना ब्यवसायिक संरचना हटाउने अभियान केहीदिन अघि सुरु गरेको भेरी अस्पतालको अभियानलाई उक्त विवादले रोकेको हो । विवादका कारण भेरी अस्पतालको सौन्दर्यकरण अभियान अगाडी बढाउन अस्पताल विकास समिति नै अन्यौलमा परिरहेको छ ।

भेरी अस्पताल ब्यवस्थापन समिति र रेडक्रस सोसाइटी बाँके शाखा तथा चिकित्सक संघ भेरी शाखाबीच बढेको विवादका कारण अस्पतालले आधाभन्दा बढी संरचना भत्काइसकेको अवस्थामा बीचमा आएर रोकिन पुगेको हो ।

अहिले भेरीको विवाद उत्कर्षमा पुगिसकेको छ । विवाद यत्तिमा मात्र सिमित छैन, विवाद अदालतसम्म नै पुगिसकेको छ । अस्पतालले भत्काउने भनिएको रेडक्रस र नेपाल चिकित्सक संघको संरचना भत्काउन बाँकी छ ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पताल विकास समितिले दुबै निकायका संरचना भत्काउन खोजिरहेको छ, तर रेडक्रस र चिकित्सक संघ सहमतीमा आउन सकेका छैनन् । अस्पतालले बल प्रयोग गर्न चाहेको छैन । यदी बल प्रयोग नै गर्ने हो भने अदालत र स्थानीय प्रशासन भेरी अस्पतालकै साथमा छन् ।

अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ अदालतले नै भेरी अस्पतालको विकासमा बाटो ‘क्लियर’ गरिदिएकाले सोही अनुसार अगाडी बढ्ने बताउँछन् । ‘बल प्रयोग गरेर संरचना भत्काउन हामीले नचाहेको हो,’ उनले भने ‘अदालतले रेडक्रस र चिकित्सक संघलाई अन्तरिम आदेश नै दिएन, सकभर सहमतीबाटै बाँकी संरचना हटाउन खोजेका हौं ।’

अस्पतालले अन्य संरचना हटाइसकेको अवस्थामा रेडक्रस र चिकित्सक संघका ब्यवसायिक संरचना मात्र भत्काउन खोज्दा विवाद उत्पन्न भएको श्रेष्ठले सुनाए । उनले भने ‘तत्कालिन अस्पताल विकास समितिले रेडक्रस र चिकित्सक संघलाई उपयोग गर्न मात्र जग्गा दिएको हो, तर उहाँहरु दिएको भन्दा बढी नै जग्गा ओगटेर बस्नु भएको छ, अहिले अस्पतालको गुरुयोजनालाई कार्यान्वयन गर्न संरचना भत्काउन खोज्दा मान्नु हुदैन ।’ अस्पतालले रक्तसञ्चार केन्द्रलाई नै विस्थापित गर्न खोज्यो भन्ने हल्ला निराधार रहेको श्रेष्ठको दाबी छ ।

दुबै पक्षले अहिले आरोप–प्रत्यारोप गरिरहेका छन् । दुबै पक्षका आ–आफ्नै दाबी र ठोकुवा गरिरहेकाछन् । रेडक्रस बाँकेले नेपालगन्जमा बुधबार पत्रकार सम्मेलन नै गरेर अस्पतालको उक्त कार्यको बिरोध मात्र गरेन, यदी अस्पताल विकास समितिले रेडक्रसका ब्यवसायिक संरचना भत्काउने हो भने बिरामीलाई अत्यावश्यक पर्ने रक्तसञ्चार सेवा नै बन्द हुने चेतावनी दिएको छ ।

रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले भेरी अस्पतालको नियत माथी नै प्रश्न उठेको बताउँदै रक्तसञ्चार केन्द्रलाई विस्थापित गर्न खोजिएको धारणा राखे । उनले रक्तसञ्चार सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म हाल रक्तसञ्चार सेवा सञ्चालन भइरहेको भौतिक संरचना पूर्ववत् अवस्थामा प्रयोग गर्नका लागि सबै पक्षबाट सहयोग तथा समन्वय गरिदिन पत्रकार सम्मेलनमार्फत अपील गरे ।

भेरी अस्पतालको स्तरोन्नती गर्ने योजना र यसको सुदृढिकरणमा आफुहरुको पनि सहयोग रहने बताउँदै उनले यसमा पूर्ण सहमति र समथर्न रहेको बताए । ‘सेवाको गुणस्तर सुधार र स्तरोन्नती तथा सेवा प्रवाहमा चाहिने संरचनाहरु निर्माणसँगै सौन्दर्यकरणको लागि बाहिरी पूर्वाधार भत्काउने क्रममा रक्तसञ्चार सेवा प्रयोजनको लागि प्रयोग भइरहेको र थोरै भएपनि रक्तसञ्चार सेवामा आर्थिक श्रोत ब्यवस्थापनमा टेवा दिइरहेको भवन भत्काउँदा त्यसको प्रत्यक्ष असर सेवा प्रवाहमा पर्ने देखिएको छ,’ जारी प्रेस विज्ञप्तीमा सभापति सम्झनाले उल्लेख गरेका छन् ।

अस्पताल विकास समितिको कदम विरुद्ध रेडक्रस र चिकित्सक संघ अदालत पुगेपनि उनीहरुको माग बमोजिम सुनुवाई भएन । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले असोज १२ गते ‘अन्तरिम आदेश जारी गर्नु नपर्ने र कानून बमोजिम गर्न’ आदेश दिएको थियो ।

नेपाल चिकित्सक संघ भेरी समितिका अध्यक्ष डाक्टर विनोद कर्ण अदालतले अन्तरिम आदेश जारी गर्नु नपर्ने आदेश गरेपनि अन्तिम फैसला नआएको बताउँछन् । उनले अगाडी भने, ‘अस्पतालकै जग्गामा हाम्रा संरचना बनेका छन्, त्यो ठाउँ छाड्नु नै पर्ने हो भनेपनि समय लाग्छ नै, हामी छाड्न तयार छौं, अस्पताल अहिले नै भत्काउ भन्छ, तुरुन्तै हामी कहाँ जाने ?’ अध्यक्ष कर्णले चिकित्सक संघ र रक्तसञ्चार केन्द्रलाई त्यहाँबाट विस्थापित गर्ने भेरी अस्पतालको रणनीति रहेको ठोकुवा गरे ।