विज्ञान र प्रविधिको समुचित प्रयोग गरिने


विज्ञान र प्रविधिको समुचित प्रयोग गरिने

नेपालगन्ज : नेपालका वैज्ञानिकहरुले विज्ञान र प्रविधिको उपयोग गर्दै नेपाललाई समृद्धिको दिशामा लैजाने कुरामा जोड दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको सहकार्यमा आयोजना गरेको ३ दिने बैज्ञानिक लेखनबृत्ति सम्बन्धित तालिमको उद्दघाटन गर्दै सो कुरामा जोड दिएका हुन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. सुनीलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समृद्धिसंग जोडेर लिने कुरामा आफुहरुको ध्यान केन्द्रित भएको बताए । उनले नवपर्वतनमार्फन समृद्धि, समृद्धिका लागि युवा फोकस र उद्यमशीलतासंग जोडेर विज्ञान र प्रविधिको समुचित प्रयोग गरिने योजना बनाइएको बताए ।

परम्परागत ज्ञान, सीपलाई प्रविधि र समाजसंग जोड्दै लैजानका लागि नयाँ तरिकाबाट सोच्दै अबका प्राथमिकता के हुन् त्यसको पहिचान गरिएको वरिष्ठ वैज्ञानिक डा. श्रेष्ठले बताए ।

कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ खोज अनुसन्धान गर्दै नयाँ पुस्तालाई प्रविधिमैत्री बनाइने नाष्टको लक्ष्य रहेको बताइएको छ ।
सन् १९८२ मा स्थापना भएको नाष्टले नेपालका विभिन्न ठाउँमा पुग्ने क्रममा नेपालगन्जलाई विज्ञान र प्रविधिको हबका लागि उपयुक्त भएको नाष्टमा आवद्ध वैज्ञानिकले जोड दिएका छन् ।

नाष्टले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं. ५ को केन्द्रका रुपमा नेपालगन्ज रहेको भन्दै यस क्षेत्रका प्रध्यापकहरुलाई वैज्ञानिक लेखनसम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रममा ३६ जनाको सहभागिता रहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने सो तालिमको उद्दघाटन सत्रमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तब, मध्यपश्चिम विश्वविद्यालय विज्ञान संकायका डिन प्रो. देवबहादुर खड्का, नास्टका सिनियर बैज्ञानिक डा. ज्ञानबहादुर बज्राचार्य, सुरेश कुमा ढुंगेल, महेन्द्र बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मी, सहायक क्याम्पस प्रमुख विज्ञान संकायका रबिन्द्र कर्ण लगायतले सम्बोधन गरेका थिए ।