राँझामा बोटानिकल गार्डेन, दशैंसम्म सञ्चालनमा ल्याइने


राँझामा बोटानिकल गार्डेन, दशैंसम्म सञ्चालनमा ल्याइने

नेपालगन्ज: नेपालगन्जमा बोटानिकल गार्डेन बन्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२०, राँझा एयरपोर्ट नजिकै उक्त गार्डेन बन्न लागेको हो ।

उपमहानगरपालिकाको ३६ हेक्टर क्षेत्रफलमा अत्याधुनिक गार्डेन बन्न लागेको हो । नेपालगन्ज उपमहानगरपालिकाको पहल र २० नम्बर वडा समितिको कार्यालयको सक्रियतामा प्रदेश सरकारले वन कार्यालयमार्फत सो बोटानिकल गार्डेन बनाउन लागेको हो ।

उक्त बोटानिकल गार्डेन निर्माणका लागि प्रदेश सरकारले वन कार्यालय मार्फत करिव डेढ करोड रकम उपलव्ध गराएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयले गार्डेन निर्माणको प्रक्रियाका लागि टेण्डर समेत आह्वान गरेर पहिलो चरणको काम शुरु गर्ने तयारी गरेको छ ।

बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको गार्डेन यस वर्षको दशैंसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

नक्शासहितको बजेट शिलिङ बनाइएकाले अब केही दिनभित्रै निर्माण प्रक्रिया शुरु गरिने पनि वडा अध्यक्ष कार्कीले जानकारी दिए । गार्डेनमा हरियो, आकर्षक मैदानसहित विभिन्न फूल, विरुवाहरु लगाइने छन् । यसका साथै गार्डेनको सौन्दर्यकरणलाई मध्यनजर गर्दै गार्डेनमा थुपै्र भौतिक संरचना पनि निर्माण हुँनेछन् ।

बहुउद्देस्यीय निर्माणाधिन गार्डेन क्षेत्रमा पिकनिकस्थल, आवास, चौतारी, आकर्षक बत्ती लाईट, टिकट काउन्टर लगायतका संरचना बनाइने भएको हो । नेपालगन्ज नजिक पिकनिकस्थलको अभाव भइरहेका बेला उक्त गार्डेन निर्माणले सोको परिपुर्ती गर्ने विश्वास लिइएकोछ ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिकाद्वारा बागेश्वरी मन्दिर, पुरैना–पुरैनी स्थित कान्ती ताल, धम्बोझीको वाटर पार्कलाई पनि आकर्षक र पर्यटकीय स्थलका रुपमा विकास गरिदैछ । यस अघि रानीतलाउलाई पुनःनिर्माण गरि वोटिङ सञ्चालन गरिसकिएको छ । पर्यटक आकर्षित गरी आर्थिक क्रियाकलाप बढाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले देशभर दर्जन बढी पार्क निर्माण गर्न लागेको छ ।