टिकट नपाउँदा हुम्ला विमानस्थलबाटै फिर्ता भए बिरामी

नेपाल वायुसेवाको जहाजले उडान भर्न छाड्यो


टिकट नपाउँदा हुम्ला विमानस्थलबाटै फिर्ता भए बिरामी

तस्विर : रासस

सिमकोट (हुम्ला) ९ कार्तिकः जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।

जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो ।

उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरिएका बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ ।

बिरामी वीरजितले मात्र टिकट पाएको भए पनि बिरामीसँगै जाने कुरुवाले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएका हुन् । “बिरामी बुवालाई कसको साथ लगाएर अस्पताल पठाउने, त्यसैले हामी फर्कियौँ दीर्घले गुनासो गरे ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

नेपालगन्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी एयर सीता, तारा र समिटले नियमित उडान नभर्दा जिल्ला बाहिरिने हुम्लीले सास्ती खेप्नुपरेको छ । अन्य समय बिहानदेखि बेलुकासम्म दैनिक १० भन्दा उडान भर्ने निजी एयरले यो समय एकमात्रै उडान गर्दा बिरामीदेखि अन्य सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

सीता, समिट, ताराले दैनिक एक उडान भरे पनि विद्यार्थी, बिरामीलाई प्राथमिकता नदिएर फोनका आधारमा टिकट विरतण गरेको जनगुनासो आउने गरेको छ । आफन्त र चिनजानका आधारमा दसैँ, तिहारको समय टिकट वितरण हुँदा अन्य सर्वधारण मर्कामा परेका छन् ।

नेपाल वायुसेवाको जहाजले उडान भर्न छाड्यो

हुम्लामा नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान नभर्दा जिल्ला बाहिरिने जिल्लावासीले थप समस्या भोग्नुपरेको छ । वैशाखदेखि नेपाल वायुसेवाको जहाजले उडान नभरेपछि हुम्लाबाट नेपालगन्ज, सुर्खेतलगायत बाहिरिने यात्रुलाई सास्ती भएको छ ।

दशैँ मनाएर काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् । पहुँचवालाले सहजै टिकट पाउने र सर्वसाधारण नागरिकले हप्ता दिनसम्म एयरपोर्ट धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गरे ।

निजी एयरलाइन्स तारा र समिटले उडान गरे पनि भित्रभित्रै टिकट वितरण हुने गरेको छ । सीता एयरले चार÷पाँच दिनयता उडान नगरेको यात्रुको दुःखेसो छ । -रासस