सुदूरपश्चिमका तीन जिल्लामा एक सातादेखी औषधि अभाव


सुदूरपश्चिमका तीन जिल्लामा एक सातादेखी औषधि अभाव

डोटी १० कार्तिक : एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।

यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अवरुद्धसडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अवरुद्धभएपछि अस्पतालमा औषधि अभाव भएको जानकारी दिए । उनले भने, अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक–दुई दिनमै ढुवानी नभए औषधिको समस्या हुने देखिन्छ ।

जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पचास शय्याको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि मात्रै औषधि रहेको उक्त अस्पतालका निर्देशक अर्जुन बलायरले जानकारी दिए । जिल्लामा अस्पताल मात्र नभई यहाँका गाउँपालिकाहरूमा पनि औषधि अभाव रहेको पाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने अवस्था पनि रहेन औषधिको अभाव भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार यहाँका पहाडी जिल्लाहरुमा बाढीपहिरापछि पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्यरुपमा अभाव देखिएको छ । -रासस