बाँकेमा लागुऔषध कारोबारको समस्या ज्यूँका त्यूँ

१७ हजार भारुको लोभमा ब्राउनसुगर लिन हेटौँडाबाट रुपैडिहा


बाँकेमा लागुऔषध कारोबारको समस्या ज्यूँका त्यूँ

File Photo

नेपालगन्ज ११ कार्तिक : पश्चिम नेपालमै लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको नेपालगन्जमा लागुऔषध ओसारपसार र यसको कारोबार नियन्त्रणमा आउन सकेकोछैन । नेपालगन्ज नाका भएर लागुऔषध लिनकै लागि मकवानपुरबाट आएका एक युवकलाई प्रहरीले पक्राउ गरेपछि बाँकेमा लागुऔषध ओसारपसार, कारोबार नियन्त्रणमा आउन नसकेको पुष्टि गरेकोछ ।

बाँकेमा लागुऔषध नियन्त्रण र रोकथामका लागि प्रहरी तथा लागुऔषध नियन्त्रण ब्यूरो सक्रियरुपमा लागिरहेपनि देशका विभिन्न स्थानबाट नेपालगन्ज आएर सीमावर्ती बजार रुपैडिहाबाट निस्फिक्री ओसारपसार भइरहदाँ प्रहरी र ब्यूरो लागुऔषध ओसारपसार, सेवन र यसको कारोबार नियन्त्रणमा लिन सकिरहेको छैन ।

पछिल्लो एउटा घटनाले यसको पुष्टि गरेको छ । प्रहरीले प्रतिबन्धित लागूऔषध १५.६ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित जमुनाहा नाकाबाट मकवानपुरका युवा मानबहादुर रोकालाई नियन्त्रणमा लिएपछि नेपालगन्ज लागुऔषध ओसारपसराको सुरक्षित र सहज केन्द्र बनेको पुष्टि गरेको हो ।

बाँकेको नेपालगन्ज हुदैँ भारतीय बजार रुपैडिहा पुगेर ठूलो मात्रामा लागुऔषध लिन मकवानपुरको हेटौंडाबाट आएका मानबहादुर पक्राउ परेपछि यसले नेपालगन्ज अझैं लागुऔषध कारोबार र ओसारपसारको मुख्य केन्द्रमा रहेको प्रमाणित गर्छ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज हुँदै छिमेकी देश भारतको रुपैडिहा पुगेका मानबहादुरले रुपैडिहाबाट खैरो हेरोइन(ब्राउन सुगर) समेत आफ्नो साथमा सहजै नेपाल भित्र्याएका थिए । उनी रुपैडिहाबाट खैरो हेरोइन लिएर निर्धक्क जमुनाहा नाका भएर नेपाल प्रवेश गर्दै थिए ।

उनले एक किलो स्याउसँगै आलु चिप्सको कभरभित्र १५.६ ग्राम ब्राउनसुगर राखेर ल्याएका थिए । रुपैडिहाबाट हिँड्दै नेपालगन्ज प्रवेश गरिरहेका रोकालाई प्रहरीले शंका लागेर जाँच गर्दा ब्राउनसुगर फेला पारेको थियो ।

काभ्रेको महादेवस्थान घर भई हाल मकवानपुर बस्दै आएका मानबहादुर यतिबेला लागुऔषध ओसारपसरा मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेकाछन् । उनीमाथि लागुऔषध ओसारपसारको मुद्दा चलाएर थप अनुसन्धान अघि बढाइएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले जानकारी दिए ।

लागूऔषध खैरो हेरोइन लिनकै लागि हेटौंडाबाट नेपालगन्ज हुँदै भारतको रुपैडिहा पुगेका मानबहादुरले यसअघि पनि यही नाकाबाट ठूलो मात्रामा लागुऔषध लिएर हेटौंडा गएको र उनले उक्त लागुऔषध उतैका कारोबारीलाई बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतीय नाकाबाट नेपाल भित्र्याइने लागुऔषध काठमाण्डौं, पोखरा लगायतका क्षेत्रमा विक्रिवितरण हुने गरेको प्रहरीले बताएकोछ ।

१७ हजार भारुको लोभमा ब्राउनसुगर लिन हेटौँडाबाट रुपैडिहा

बाँके प्रहरीले १५.६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेका मानबहादुरले यसअघि लागूऔषध ब्राउनसुगर आफ्नो शरीर वा सवारीसाधनको कुनाकाप्चामा राखेर ओसारपसार गर्ने गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी न्यौपानले जानकारी दिए । उनले अगाडी थपे–‘यसअघि लागुऔषध ओसारपसार गरेको तरकिप(आइडिया)मा नेपाल–भारत सीमामा चेकजाँचमा रहेका सुरक्षाकर्मीको शंकाको घेरमा परेपछि उनले यसपटक स्याउसंगै आलुचिप्सको कभरभित्र लागुऔषध राखेर ढुक्कका साथ हातमा झुण्ड्याएर ल्याएका थिए ।’

डिएसपी न्यौपानेले भने–‘लागुऔषध कारोबारमा निकै सिपालु मानबहादुरको यसपटकको तरकिप (आइडिया) फेल खायो । भारतबाट नेपाल भित्रिरहेका मानबहादुरको स्वभाव, ब्यवहार र शारीरिक हावभाव फरक पाएपछि चेकजाँच गर्दा लागुऔषधसहित हामीले नियन्त्रणमा लिन सफल भयौं ।’

मानबहादुरले यसअघि पनि भारतीय बजार रुपैडिहाबाट लागूऔषध ब्राउनसुगर लिएर हेटौंडा पु¥याउने गरेको प्रहरीले बताएकोछ ।

प्रहरी अनुसन्धानबाट मानबहादुरले एकपटक लागुऔषध ब्राउनसुगर हेटौंडा पु¥याइदिए बापत १७ हजार भारतीय रुपैयाँ पाउने गरेका थिए । यो रकम उनी हेटौंडाबाट नेपालगन्ज हुदैँ भारतीय बजार रुपैडिहा र त्यहाँबाट नेपालगन्ज हुदैँ हेटौडासम्म पुग्दा लाग्ने खर्च बाहेकको रकम हो ।

भारतको रुपैडिहाको चकियारोड लागुऔषध कारोबारको मुख्य स्थलका रुपमा परिचित छ । यहीबाट नेपालबाट भारत लगिने गाँजा, चरेसको भण्डारण गरिने र त्यहाँबाट भारतका विभिन्न स्थानमा सप्लाई गरिन्छ । भने त्यहीँबाट ब्राउनसुगर लगायत अन्य लागुऔषध नेपाल भित्र्याइने गरेको लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यररत एक प्रहरीले सेतोखरीलाई जानकारी दिए ।

ती प्रहरीले भने भारतको रुपैडिहा लागुऔषधसंगै अपराधको गढका रुपमा परिचित छ । यहाँ (चकियारोडमा) प्रायः नेपाली पस्ने आँट गर्दैनन् । सामान्य अन्य नेपालीहरु जाँदा पनि जाँदैनन् । चकियारोडमा दिउँसै लुटपाट र अन्य घटना हुनेगर्छ । चकियारोडको फुकोट गाउँलाई असुरक्षित मानिन्छ । यहीबाट ब्राउनसुगरलगायतको अबैध कारोबार सञ्चालन हुने गरेको ती प्रहरीको भनाइ छ ।

रुपैडिहामा सहजै ब्राउनसुगर पाइने भएकाले पनि नेपालका टाढा–टाढाबाट कारोबारीहरु त्यहाँ पुग्ने गर्दछन् । बाँकेका छिमेकी जिल्लाहरु सुर्खेत, दैलेख, दाङलगायतबाट रुपैडिहामा ब्राउनसुगर जस्ता लागूऔषध लिन जानु सामान्य जस्तै छ । किनभने बाँकेको छिमेकी जिल्लाहरुबाट मोटरसाईकल, निजि तथा सार्वजनिक सवारी साधनमा विहान आएर साँझ आफ्नो अड्डा(लागुऔषध भण्डारण तथा कारोबार गर्ने ठाउँ) सहजै फर्किन सकिन्छ ।
अझ अर्को रोचक कुरा त के भने सोही क्षेत्रका कतिपय भारतीय कारोबारी आफू स्वयमले ब्राउनसुगर बाँकेका कुनाकुनामा पु¥याउने गरेको बाँके प्रहरीको रेकर्डले देखाउछ ।

हेटौंडाबाट बस चढेर ब्राउनसुगर लिन भारतको रुपैडिहा आइपुगेको यो भने पहिलो घटना होइन यद्यपी बाँके प्रहरीले यो पहिलो घटना भएको दावी गरिरहेकोछ ।

लागुऔषधसंगसगै नेपालगन्ज नाका भएर चेलिबेटी बेचविखन, ओसारपसार, विभिन्न वन्यजन्तुका महत्वपूर्ण अगं, पुरातात्विक बस्तु, मूर्तिको समेत यही नाकाबाट ओसारपसार हुनुका साथै कारोबार समेत हुने गरेकोछ ।
यतिमात्र होइन नेपालमा अपराध गरेर भारतमा गई लुक्न र भारतमा अपराध गरेर नेपालमा आई लुक्न समेत नेपालगन्जको नेपाल–भारत सीमानाका अपराधीका लागि सुरक्षित मानिदै आएकोछ ।

लागुऔषध प्रयोग, नियन्त्रण र रोकथामका लागि बाँकेमा बाँके प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरो तथा लागुऔषध विरुद्ध कार्य गर्ने विभिन्न संघसस्थाले बाह्रै महिना खटिदै आएपनि लागुऔषध कारोबार, ओसारपसारमा भने संख्यात्मक कमि आएको छैन ।