बाँकेमा एकैदिन ५४ सवारीसाधनको प्रदुषण जाँच्दा १६ वटा फेल


बाँकेमा एकैदिन ५४ सवारीसाधनको प्रदुषण जाँच्दा १६ वटा फेल

नेपालगन्ज १३ कार्तिक : पछिल्लोपटक बाँकेमा ट्राफिक चेकजाँचसंगै सवारी साधनको प्रदुषण लेभल परीक्षण गरिएकोछ । सवारी साधनको प्रदुषण मापन(परीक्षण) गर्दा बाँकेमा गुड्ने अधिकांश सवारी साधन वायु प्रदुषणको मापदण्ड बाहिर रहेको पाइएकोछ ।

बाँकेमा प्रदुषण मापदण्डभन्दा बाहिरका सवारी साधन गुड्ने गरेको पाइएपछि यसले मानव स्वास्थ्यलाई मात्र नभएर पर्यावरणमा समेत असर गरेकाले यस्ता सवारी साधन सञ्चालनमा रोक लगाइनुपर्नेमा सम्बद्ध सरोकारवालाको ध्यायन केन्द्रित गरेकोछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले शुक्रबार नेपालगन्जको राँझामा २७ वटा डिजेल र २७ वटा पोट्रोलबाट गुड्ने सवारी जाँच गरेको थियो । उक्त जाँचमा १६ वटा सवारी साधन प्रदुषण मापदण्डमा फेल भएका छन् ।

एकैदिन बाँकेमा ५४ वटा सवारीसाधनको प्रदुषण जाँच्दा १६ वटा परीक्षणमा फेल भएको पाइएपछि जिल्लामा प्रदुषण मापदण्ड भन्दा बाहिरका सवारी साधन नियमन र नियन्त्रणमा समेत जिल्ला ट्राफिक प्रहरीको ध्यायन केन्द्रित गरेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक मल्लका अनुसार वन तथा वातावरण मन्त्रालयका, वातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीले ती सवारी साधनको प्रदुषण परीक्षण गरेका हुन् ।

‘डिजेलबाट गुड्ने २७ वटा सवारी साधन जाँच्दा ३ वटा र पेट्रोलबाट गुड्ने सवारी साधन जाँच्दा १३ वटा साधनले प्रदुषण मापदण्डमा फेल भएको पाइयो’ ट्राफिक प्रहरी प्रमुख मल्लले भने–‘सवारी साधन परीक्षणका क्रममा प्रदुषण मापदण्डमा फेल भएका सवारीधनीलाई पहिलोपटक सम्झाईबुझाई छाडिएकोछ ।’

उनका अनुसार वातावरण बिभागको संमन्यवयमा जिल्लामा गुड्ने सवारीसाधनको प्रदुषण जाँच गर्ने कार्यलाई निरन्तरता दिइनेछ । वातावरण विभाग र बाँके ट्राफिकको संयुक्त टोलीले नेपालगन्जमा गुड्ने सवारी साधन जाँच गर्दा यस्तो पाइएको हो ।

प्रदुषणको मापदण्ड बाहिर रहेर गुड्ने यस्ता सवारी साधन सञ्चालनमा बाँके ट्राफिक प्रहरी, स्थानीय निकाय र स्वयम सवारीधनीमा जागरुकता आउन जरुरी छ ।