रोग लागेपछि अस्पताल पुग्ने होइन, रोग लाग्न नदिनु नै राम्रो हो : डाक्टर राणा


रोग लागेपछि अस्पताल पुग्ने होइन, रोग लाग्न नदिनु नै राम्रो हो : डाक्टर राणा

नेपालगन्ज १३ कार्तिक : ‘रोग लागेपछि अस्पताल पुग्ने होइन, रोग लाग्न नदिनु नै बेस हुन्छ, यसका लागि आफ्नो स्वास्थ्यको हेरचाह आफैले गर्नुपर्छ र वर्षमा कम्तिमा एक पटक आफ्नो मृगौला चेक गराउने हो भने पछि दुःख पाइदैन,’ मृगौला रोग विशेषज्ञ डाक्टर अर्चन सम्शेर राणाले शनिबार नेपालगन्जका पत्रकारसँग भने ।

नेपालगन्जस्थित एशोदा क्लिनिकको समन्वयमा भएको अन्तरक्रियामा विशेषज्ञ डाक्टर राणाले ‘स्वस्थ मृगौला, स्वस्थ जीवन’ भन्ने अभियान अन्तर्गत आफुहरुले सचेतना फैलाउने काम गरिरहेको बताए । नेपालमा मृगौला रोगका बिरामी धेरै बढिरहेको र विशेषगरी ३० वर्षभन्दा कम उमेरका ब्यक्तको पिसाबमा प्रोटिनको मात्रा बढेर धेरैका मृगौलामा समस्या आएको डाक्टर राणाले सुनाए ।

‘नेपालमा मृगौला बिग्रिनुको प्रमुख कारण सुगर, प्रेसर र पिसाबमा प्रोटिनको मात्रा बढ्नु हो, हेर्दा मान्छेलाई थाहा हुदैन,’ उनले भने ‘३० वर्ष भन्दा कम उमेरकालाई पिसाबमा प्रोटिन देखिने हुन्छ, यो समस्या त १० जना मध्ये एक जनामा हुन सक्छ,’ उनले भने ‘५०÷६० वर्ष भन्दा माथी उमेरकालाई सुगर र प्रेसरले मृगौलामा हान्छ, तर ३० वर्षभन्दा मुनिकालाई पिसाबमा प्रोटिनको मात्रा बढेर मृगौलालाई असर गर्ने गरेको छ ।’

‘कतिपय ब्यक्तिको मृगौलालाई लामो समयसम्म रहने पथ्थरीले पनि असर गर्ने गरेको उनले बताए । हामी नेपालीको चलन छ टाउको दुख्यो, खुट्टा सुनियो वा शरीर दुख्यो भने हतपत्त आपूखुसी ‘पेनकिलर’ औषधी गरिहाल्छौं’ उनले अगाडी भने–‘पेनकिलर औषधी सेवनले दुखाई त ठिक भयो तर त्यसको दीर्घकालिन निराकरण भएन । यही बानी बसेर जान्छ अनि पछि मृगौलाका लागि घातक हुदाँ मृगौला फेल हुने र मृत्यु समेत हुने गरेको उनको भनाइ छ ।

Kanti Aarogya Hospital Nepalgunj

‘स्वस्थ्य जीवनशैलीमा पनि आहारविहार, आराम र शारीरिक व्यायाम नपुग्दा पनि अस्वस्थ्य बन्ने हुदाँ यसबाट बच्न रोग लागेपछि अस्पताल पुग्ने होइन की रोग लाग्न नदिनु नै राम्रो हो’ मृगौला रोग विशेषज्ञ डाक्टर राणाले अगाडी थपे–‘आफ्नो स्वास्थ्यको हेरचाह आफैले गर्ने हो, अरु कसैले गर्दिएला भन्ने होइन, त्यसैले वर्षमा कम्तिमा एक चोटी आफ्नो मृगौला जाँच गराउनुस्, ढुक्क हुनुहोस् ।’

उनले भने ‘मृगौला रोगबाट ग्रसित ९० प्रतिसत विरामीमा खासै लक्षण देखिदैन । त्यसैले पनि मानिसहरु मलाई केही भएको छैन भन्दै खानपान र शारीरिक ब्यायाममा ध्यायन दिदैनन् ।’ डाक्टर राणाले अगाडी थपे–‘वर्षमा एक चोटी ८ सय रुपैयाँ जसले नी खर्च गर्न सक्छ । केही परिवारलाई गाह्रो होला तर, सामान्य मान्छेले पनि वर्षमा एक पटक मृगौला चेक गराउनु भयो भने यसबाट पछि उत्पन्न हुने विकराल अवस्थाबाट उन्मुक्ति पाइन्छ ।’

मृगौला फेल भएर पनि दृढ आत्मसम्मान र संकल्पका साथ जीवनयापन अघि बढाए डायलासिस र मृगौला प्रत्यारोपण गरेका ब्यक्ति धेरै वर्ष बाँचेको थुप्रै उदाहरण छ । त्यसैले यो जटिल अवस्थामा आउनुभन्दा अघि विशेषज्ञ डाक्टरसंग परामर्श गर्नुका साथै स्वास्थ्य जाँच समेत गर्नुपर्ने डाक्टर राणाको सुझाव छ ।

काठमाडौंको विभिन्न अस्पतालमा कार्यरत मृगौला रोग र मुत्र रोग विशेषज्ञ डाक्टर राणा नेपालगन्जस्थित एशोदा क्लिनिकको समन्वयमा प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रबार र शनिबार नेपालगन्ज आएर बिरामीको उपचार गर्ने गर्दछन् ।

एशोदा क्लिनिकको समन्वयमा शनिबार मृगौला रोग र मुत्र रोग विशेषज्ञ डाक्टर राणासंग गरेको पत्रकार अन्तरक्रियाका क्रममा क्लिनिकले डुढ दर्जन पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरेको क्लिनिकका सदस्य रोशन केसीले जानकारी दिए । उनका अनुसार सो क्रममा पत्रकारको किड्नी, सुगर, कोलेस्टर, पीसाबमा इन्फेक्सन लगायतको स्वास्थ्य जाँच गरिएको थियो ।