बाँकेको भेरीसहित देशका २४ वटा अस्पालबाट फाइजर खोप लगाइँदै

कोरोना विरुद्धको फाइजर खोप कसले लगाउन पाउँछ ?


बाँकेको भेरीसहित देशका २४ वटा अस्पालबाट फाइजर खोप लगाइँदै

नेपालगन्ज २४ कार्तिक : बाँकेको भेरी अस्पतालसहित देशका २४ वटा अस्पतालबाट कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने भएकोछ । आगामी आईतबारदेखी अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको कोरोना भाइरस विरुद्धको खोप फाइजर लगाइन लागेको हो ।

अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप यही कार्तिक २८ गते आईतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइन थालिएको हो । यो खोप अभियान आगामी मंसिर ४ गतेसम्म चल्नेछ ।

परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको बताएका छन् । उनका अनुसार खोप अभियानका लागि काठमाडौं उपत्यकाभित्र ८ र उपत्यका बाहिर १६ गरी जम्मा २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको छ ।

उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइनेछ । दाहालले भने,–‘१८ वर्षमाथिका दीर्घरोगी धेरैले यसअघि खोप लगाइसक्नुभएको छ । १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई पुग्छ भन्ने अनुमान गरी खोप दिन लागिएको छ । यो अभियानमा १२ वर्षमाथिका दीर्घ रोगी खोप लगाउन आएमा लगाइने छ ।’

Kanti Aarogya Hospital Nepalgunj

कोरोना विरुद्धको फाइजर खोप कसले लगाउन पाउँछ ?
१२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
– लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
– लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
– जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
– लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
– अंग प्रत्यारोपण गरेका व्यक्ति
– लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
– कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
– मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति

यसका साथै मंसिर ४ गतेसम्म यी समूहलाई खोप लगाइसकेपछि खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाइने कार्यक्रम रहेको छ । यो कार्यक्रम भने मंसिर ५ देखि ७ गतेसम्म चल्ने छ ।

सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । नेपालले फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरिसकेको छ ।

फाइजर आगामी डिसेम्बर अन्तिमसम्म र सन् २०२२मा सुरुवातमा आइपुग्ने बताइएको छ ।

सरकारले आगामी कार्तिक २८ गते आईतबारदेखि सुरु गर्न लागेको कोरोना विरुद्धको फाइजर खोप अभियान देशका यी आइतबारबाट लगाइनेछ:

उपत्यका भित्र

-वीर अस्पताल
-त्रिवि शिक्षण अस्पताल
-निजामती सेवा अस्पताल
-सहिद गंगालाल हृदय केन्द्र
-भक्तपुर क्यान्सर अस्पताल
-पाटन अस्पताल
-सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
-वीरेन्द्र सैनिक अस्पताल

उपत्यका बाहिर

-मेची अस्पताल
-बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
-जनकपुर अस्पताल
-बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
-गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान
-लुम्बिनी प्रादेशिक अस्पताल
-भेरी अस्पताल
-डडेल्धुरा अस्पताल
-कोशी अस्पताल
-गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
-नारायणी अस्पताल
-धुलिखेल अस्पताल
-धवलागिरी अस्पताल
-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
-कर्णाली प्रादेशिक अस्पताल
-सेती अस्पताल