भेरी अस्पतालमा आजबाट फाईजर खोप लगाइदैँ


भेरी अस्पतालमा आजबाट फाईजर खोप लगाइदैँ

नेपालगन्ज २८ कार्तिक : बाँकेको भेरी अस्पतालसहित देशका २४ वटा अस्पतालबाट आजदेखि कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइदैछ । अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत यही कार्तिक २४ गते आएको एक लाख कोरोना भाइरस विरुद्धको खोप फाइजर लगाइन लागेको हो ।

आजदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई यो खोप लगाइदैछ । भने खोप अभियान आगामी मंसिर ४ गतेसम्म चल्नेछ । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने यसअघि कार्यक्रम तय गरिएको थियो ।

खोप अभियानका लागि काठमाडौं उपत्यकाभित्र ८ र उपत्यका बाहिर १६ गरी जम्मा २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको छ । उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइनेछ । १८ वर्षमाथिका दीर्घरोगी धेरैले यसअघि खोप लगाइसकेकाले १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई यो खोप पुग्ने अनुमान गरिएकोछ ।

कोरोना विरुद्धको फाइजर खोप कसले लगाउन पाउँछ ?

Kanti Aarogya Hospital Nepalgunj

१२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी
–लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति
–लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी
–जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी
–लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी
–अंग प्रत्यारोपण गरेका व्यक्ति
–लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी
–कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति
–मस्तिष्क र मस्तिष्कका
रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्तिले यो खोप लगाउन पाउनेछन् ।

यसका साथै सरकारले यी समूहलाई खोप लगाइसकेपछि खोप बचत भएको अवस्थामा १२ देखि १८ वर्षका अन्य बालबालिकालाई पनि खोप लगाउने जनाएकोछ । जसका लागि मंसिर ५ देखि ७ गतेसम्म अभियान चलाउनेछ ।
सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाउन खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । नेपालले फाइजर कम्पनीसँग ६० लाख डोज र कोभ्याक्स सविधामार्फत कस्ट सेयरिङमा ४० लाख डोज खोप खरिदका लागि सम्झौता गरिसकेको छ । फाइजर आगामी डिसेम्बर अन्तिमसम्म र सन् २०२२मा सुरुवातमा आइपुग्ने बताइएको छ ।

यसैबीच, नेपालगन्जमा आजबाट कोरोना भाइरस विरुद्धको एस्ट्राजेनिका खोपको दोस्रो डोज अभियान सञ्चालन हुनेभएकोछ । यही भदौ ११ गतेदेखि १७ गतेसम्म एस्ट्राजेनेकाको पहिलो डोज खोप लगाएकालाई आज र भोली खोप लगाइन लागेको हो ।

नेपालगन्जको होप इन्टरनेशनल एकेडेमी, मंगल प्रसाद उमावि, जिभिएन उमावि, आदर्श उमावि राँझा र नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यालयलाई खोप केन्द्र तोकिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएकोछ ।