नेपाली भूमी लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न भारतले रोक्यो


नेपाली भूमी लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न भारतले रोक्यो

नेपालगन्ज ३० कार्तिक : नेपाली भूमी दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न भारतले रोकेकोछ । भारतीय पक्षको अवरोधका कारण दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा जनगणना सुरु हुन सकेको छैन ।

देशभर २५ कार्तिकदेखि जनगणना थालिएपनि कमजोर सरकार र प्रशासकका कारण नेपाली भूमी दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना हुन सकेन । जनगणनाका लागि दार्चुलाको व्याँस गाउँपालिका–१ तिंकर र छाङरुमा जनगणनाका लागि अझैंसम्म गणक पुग्न सकेका छैनन् ।

भारतीय प्रशासनले तिंकर र छाङरुमा गणक जानका लागि अनुमति नदिँदा त्यहाँ जनगणना सुरु हुन नसकेको जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेले बताए । नेपाली भूमिबाट छाङरु र तिंकर पुग्ने बाटो छैन । त्यहाँ भारतको बाटो प्रयोग गरेर जानु पर्छ । भारतीय पक्षले अनुमति नदिएकाले त्यस क्षेत्रमा गणक पठाउन नसकिएको हो ।

२५ कार्तिकमा जनगणना कार्यालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई भारतीय प्रशासनसँग तिंकर र छाङरुमा गणक पठाउन अनुमतिका लागि पत्राचार गर्न आग्रह गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो । तर, भारतीय प्रशासनले भने बाटो बिग्रिएको भन्दै गणकलाई तिंकर र छाङरु जाने अनुमति दिएको थिएन ।

Kids Festival 2022
kanti aarogya hospital
add

अन्य मानिसलाई ओहोरदोहोरका लागि अनुमति दिने गरेको भए पनि जनगणनामा अवरोध सृजना गर्न भारतीय पक्षले गणकलाई अनुमति नदिएको व्याँस गाउँपालिका स्थानीय बताउँछन् । भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरे पछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा चेकजाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटाएको छ ।

व्याँस गाउँपालिका–१ छाङरु, तिंकर बाहेक दार्चुलाका ९ वटा स्थानीय तहका सम्पूर्ण वडामा जनगणना भइरहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डे बताउँछन् । उनका अनुसार ९ वटा स्थानीय तहमा जनगणनाका लागि १ सय ८३ जना गणक खटाइएका छन् । उनका अनुसार तिंकर र छाङरुमा पहिलो चरणको सुपरिवेक्षण मात्रै हुन सकेको छ । तिंकर र छाङरुमा एक सय २३ परिवारको बसोबास छ ।

व्याँस गाउँपालिका–१ स्थित कुटी, नाभी र गुञ्जी नेपाली भूमी भारतले कब्जा जमाएकोछ । ती गाउँसँगै जोडिएका तिंकर र छाङरुमा नेपालको प्रशासनिक अधिकार कायमै छ । तर, ती बस्तीसम्म पुग्न नेपाली भूमिमा बाटो नहुँदा त्यहाँका स्थानीय बासिन्दामा सरकारको पहुँच पुग्न सकेको छैन ।

नेपाली भूमीमा गएर जनगणना गर्ने हिम्मत सरकारले देखाउन सकेको छैन । यहीबाटै सरकार कति बलियो छ भन्ने पुष्टि गर्छ । नेपाली भूमि दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गएर जनगणना गर्न सकारलाई सकस भइरहेको बेला केन्द्रीय तथ्यांक विभागले नेपाली भूमी लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिए अनुमानका आधारमा गर्ने बताएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको तर, भारतले अनुमति नदिए अनुमानका आधारमा गर्नुपर्ने बताएका हुन् ।

तथ्यांक संकलनका लागि भारतको अनुमति पर्खेर बसेको सरकारले आफ्नै भूमीमा गएर जनगणा गर्न समेत छिमेकी राष्ट्र भारतको अनुमति पाउने आशामा पर्खेर बसेकोछ । जनगणना चलिरहेका बेला तत्कालीन केपी ओली सरकारले नेपालको नक्सामा समावेश गरेका यी भूमिको जनसंख्या लिन सरकारले नसक्ने पक्का भएको हो । यी भूमिमा जनगणना हुन नसकेका त्यहाँ नेपालले गरिरहेको दाबी पनि कमजोर हुन जाने विज्ञहरुले बताउँदै आएका छन् ।

यो पनि पढ्नुहोस्

नेपाली भूमी लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न भारतको अनुमति कुर्दै सरकार