सीसीएमसी बैठकमा कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ बारे छलफल


सीसीएमसी बैठकमा कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ बारे छलफल

नेपालगन्ज १२ मंसिर : कोरोना भाइरस (कोभिड­१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेकोछ ।

सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट नेपाल आउने यात्रुको स्वास्थ्य परीक्षण र निगरानी बढाइने भएको हो ।

सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज (आईतबार) कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसिरहेकोछ । बैठकमा स्वास्थ्य विज्ञहरुको समेत सहभागिता रहेकोछ ।

सीसीमसीसीको साप्ताहिक बैठकमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण हुनबाट कसरी सर्तकता अपनाउने, नयाँ भेरियन्टको संक्रमण देखिहाले के गर्ने, स्वास्थ्य सामाग्री, पूर्वाधार, जनशक्ति स्रोतसाधन लगायतका विषयमा बृहत छलफल भइरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ ।

बैठकमा कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो ।

दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । कोभिड–१९ को नयाँ भेरियण्टप्रति सतर्क र सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ ।