नेपालगन्ज १२ मंसिर : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को उच्च जोखिममा नेपाल लगायत दक्षिण–पूर्वी एशियाका देश रहेको भन्दै विश्व स्वास्थ्य संगठनले उच्च सर्तकता अपनाउन आग्रह गरेकोछ ।
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।
‘यस क्षेत्रका अधिकांस देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ,’ डब्लूएचओकी क्षेत्रीय निर्देशक डाक्टर पुनम क्षेत्रपाल सिंहले भनिन् ।
विज्ञप्तीमा दक्षिण–पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।
‘जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड–१९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ,’ क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तीमा भनेकी छन् ।
उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् । ‘आजको दिनसम्ममा यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका छन् । त्यसैले ठूलो संख्या अहिले पनि संक्रमणको जोखिममा नै छन्,’ उनले भनेकी छन् ।
यसैबीच, छिमेकी देश भारत लगायतका देशमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि सरकारले आवश्यक तयारी गरेकोछ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिममा नेपाल पनि परेको भन्दै सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बसेर आवश्यक तयारीमा जुटेको हो ।
दक्षिण अफ्रिकामा पहिलो पटक रिपोर्टिङ भएको यो नयाँ भेरियन्ट बेलायत, जर्मनी, अष्ट्रेलिया र भारत लगायतका देशमा देखिसकेको छ ।