नेपालगन्ज १३ मंसिर : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले यतिबेला विश्वजगतमा खलबली मच्चाएकोछ । दक्षिण अफ्रिकामा पहिलोपटक पत्ता लागेको कोरोना भाइरसको यो नयाँ भेरियन्ट आश्चर्यजनकरुपमा धेरै उत्परिवर्तित छ ।
विश्व स्वास्थ्य सङ्गठनले पहिला यो भेरियन्टलाई बी.१.१.१५९ को सङ्केतबाट चिनाएको थियो । पछि यसको ‘ओमिक्रोन’ नामकरण गरियो । दक्षिण अफ्रिकास्थित सेन्टर फर एपिडेमिक रेस्पोन्स एण्ड इन्भेशनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरियन्टभन्दा यो ‘धेरै भिन्न’ र ‘उत्परिवर्तनको अस्वाभाविक सङ्ग्रह’ देखिएको बताएकाछन् ।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वाटभन्दा बढी स्पाइक प्रोटीन भएको बताए । धेरै खोपले भाइरसको तहमा हुने काँडाजस्तो देखिने स्पाइक प्रोटीन भनिने अवयवलाई तारो बनाएका हुन्छन् । स्पाइक प्रोटीन मानिसको कोषमा टाँसिने र भित्र छिर्न सघाउने अवयव हो ।
उत्परिवर्तनहरू हानिकारक नहुन पनि सक्छन् । ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्वपूर्ण हो । तर, यो भेरियन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको हो । पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ ।
नयाँ भेरिअन्ट कस्तो छ ?
विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यो भेरियन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढेको देखिएको जनाएको छ । शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरियन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो ।
यो भेरियन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो । पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरू थप घातक छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन ।
नयाँ भेरियन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ । तर, यसको सङ्क्रमण अन्यत्र पनि फैलिएको सङ्केतहरू देखा परेका छन् ।
यात्रामा कडाइ
विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो । प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ ।
विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार यो नयाँ भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो । कोभिड–१९ को यो नयाँ भेरियन्ट यूके, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ भने चेक रिपब्लिकमा पनि यो भेरियन्ट पुगेको आशङ्का गरिएको छ ।
अझ पछिल्लो पटक छिमेकी देश चीन र भारतमा समेत यो भेरियन्टको संक्रमित भेटिएपछि यतिबेला नेपालमा उच्च सर्तकता अपनाउन थालिएकोछ । नेपाल सरकारले दक्षिण अफ्रिकाबाट नेपाल आउनेलाई प्रतिबन्ध लगाउँदै सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचलाई बढाउँदै लगएकोछ ।
नेपालले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई यात्रुहरूलाई प्रतिबन्ध लगाएको हो । नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सीधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ ।
ओमिक्रोन भेरियन्ट पुष्टि भएको इजरेलले आईतबार मध्यरातबाट विदेशीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । टाइम्स अफ इजरेलका अनुसार यो प्रावधान १४ दिनसम्म लागु हुनेछ ।
ओमिक्रोन भेरियन्ट बोत्स्वाना र हङ्कङ पनि पाइएको छ । दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड्स आइपुगेका सयौँ यात्रुहरूको परीक्षण गरिराखिएको छ ।
वायुसेवा कम्पनी केएलएमका दुईवटा उडानमा झण्डै ६१ जना यात्रुहरूमा कोभिड पुष्टि भएको छ र उनीहरूलाई आम्स्टर्डामको शिपल विमानस्थलनजिकै एउटा होटलमा क्वारन्टीनमा राखिएको छ ।
नोभेम्बर २४ तारिखमा पहिलो पटक दक्षिण अफ्रिकाले यो भेरियन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो । शुक्रबार र शनिवार कैयौँ राष्ट्रहरूले नयाँ व्यवस्थाहरूको घोषणा गरेका थिए ।
अमेरिकाले पनि सोमवारबाट लागु हुनेगरी दक्षिण अफ्रिकासहित आठ देशबाट आउने आफ्ना नागरिकबाहेक अरू यात्रुलाई प्रतिबन्ध लगाएको छ ।
अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ । जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारन्टीनमा राख्ने निर्णय गरेको छ । सो अवधिमा समयमा उनीहरूले चारवटा परीक्षण गराउनुपर्नेछ ।
भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङ्कङ सहितका देशबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन र परीक्षण गर्न निर्देशन दिएको छ । इरानले छ वटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ ।