नेपालगन्ज १५ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप ३१६ जनामा कोरोना संक्रमण भएकोछ ।
देशभर गरिएको १० हजार ९१९ पीसीआर र एक हजार ८०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २१ हजार ६५१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९५४ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २५९ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ३ हजार १६८ पुगेको छ ।
उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । १२० जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ लाख २७ हजार ५८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।