‘ओमिक्रोन’ त्रास : अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह


‘ओमिक्रोन’ त्रास : अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह

नेपालगन्ज १५ मंसिर : कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै सरकारले विदेश भ्रमण नगर्न आग्रह गरेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

छिमेकी देश भारतमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको भन्दै भारत लगायतका विदेश भ्रमण नगर्न आग्रह गरिएको हो ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डाक्टर अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार ओमिक्रोन भेरियन्ट बढी संक्रामक र सबै उमेर समुहका व्यक्तिहरुलाई असर पार्ने देखिएकाले संक्रमण रोक्नका लागि सबै नागरिकले जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह पनि गरेका छन् ।

कोभिड–१९ विरुद्धको खोपले रोगबाट बचाउने भएकाले पायक पर्ने खोप केन्द्रमा गई अनिवार्य रुपमा खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

केहिदिन अघि अफ्रिकन मुलुकहरुमा पहिचान गरिएको ओमिक्रोन भेरियन्टले यतिबेला विश्वलाई पुनः त्रसित बनाएको छ ।

पछिल्लो समय अफ्रिका तथा एसियाका केही देशहरुमा समेत यो भेरियन्ट तिव्र रुपमा विस्तार भइरहेको छ । विश्व स्वास्थ्य संगठनले समेत यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरिसकेको छ ।