भारतमा ‘ओमिक्रोन’ देखिएपछि नेपालगन्ज भन्सारमा स्वास्थ्य जाँचमा कडाई

दक्षिण अफ्रिकासहित ९ देशका नागरिकलाई नेपाल आउन रोक


भारतमा ‘ओमिक्रोन’ देखिएपछि नेपालगन्ज भन्सारमा स्वास्थ्य जाँचमा कडाई

File Photo

नेपालगन्ज १६ मंसिर : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतसहित विश्वका विभिन्न देशमा देखा परेपछि बाँकेमा पनि उच्च सतर्कता अपनाइएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै बाँके प्रशासनले छिमेकी देश भारतसँग सीमा जोडिएका यहाँका नाकामा कडाइ गर्न थालेको हो ।

भारतमा ओमिक्रोनको संक्रमण देखिएसकेकोले यसको संक्रमणबाट बच्न नेपालगन्जको जमुनाह स्थित नेपाल–भारत सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ । तर, नयाँ भेरिन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न नेपाल लगायतका देशलाई यसअघि सुझाव दिइसकेकोछ ।

भारतीय सञ्चार माध्यमका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन संक्रमण भेटिएको छ । भारतका स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले दुई जनामा ओमिक्रोन भेरियन्ट भेरियन्ट भेटिएको पुष्टि गर्दै सतर्कता अपनाउन आग्रह गरिसकेकाछन् ।

सचिव अग्रवालका अनुसार ६६ वर्ष र ४६ वर्षका पुरुषमा ओमिक्रोन भेरियन्ट भेटिएको हो । संक्रमित दुवै जनामा ज्वरोको लक्षण देखिएको छ । संक्रमण देखिएकामध्ये ६६ वर्षका पुरुष भने दक्षिण अफ्रिकाबाट फर्केका हुन् । अर्का एक जना भने स्थानीय हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके प्रशासनले नेपाल भित्रिने यात्रुहरुको पीसिआर रिर्पोट र दुबै डोज खोप लिएको कार्ड लगायतका कागजपत्र अनिवार्य रुपमा हेर्न थालेकोछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतबाट नेपाल प्रबेश गर्ने सबै नागरिकहरुले कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र देखाएमा मात्र नेपाल प्रबेश गर्न दिने, अन्यथा नेपाल प्रबेशमा रोक लगाइएको जानकारी दिए ।

नाकामा रहेको हेल्थ डेस्कका कर्मचारीहरुलाई उच्च सर्तकता अपनाउदैँ स्वास्थ्य जाँच गर्न प्रमुख जिल्ला अधिकारी खत्रीले निर्देशन समेत दिएकाछन् । त्यहीअनुसार कर्मचारीहरुले भारतबाट भित्रिने नेपालीहरुले दोस्रो डोज खोप लगाएको कार्ड देखाएपनि एन्टिजेन परीक्षण गरेर मात्रै भित्रिन दिएका छन् ।

अहिलेसम्म भारतसहित विश्वका २० देशमा नयाँ भेरियन्टका संक्रमित भेटिएकाछन् । त्यसैले पनि नेपालमा उच्च सतर्कता अपनाइएको हो ।

नयाँ भेरियन्टका संक्रमित अहिलेसम्म सबैभन्दा बढी दक्षिण अफ्रिकामा भेटिएका छन् । हालसम्म सार्वजनिक रिपोर्ट अनुसार दक्षिण अफ्रिकामा ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ ।
दक्षिण अफ्रिकापछि बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ ।

यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

डब्ल्यूएचओले कोरोनाको ओमिक्रोन भाइरस के कतिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ ।

विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरना स्वरुपका बारेमा स्पष्ट नभएको आईतबार जनाएको छ ।

दक्षिण अफ्रिकासहित ९ देशका नागरिकलाई नेपाल आउन रोक

यसैबीच, सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

सरकारले उनीहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको बुझिएकोछ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको समेत बुझिएकोछ ।

यसअघि नेपाल सरकारले ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै अत्यावशक कामबाहेक विदेश भ्रमण नगर्न सरकारले आग्रह गरिसकेकोछ ।