भेरी अस्पतालका अध्यक्ष धितालसहित चार जनालाई पदबाट हटाउनु नपर्ने कारणसहित ७२ घण्टे लिखित स्पष्टीकरण


भेरी अस्पतालका अध्यक्ष धितालसहित चार जनालाई पदबाट हटाउनु नपर्ने कारणसहित ७२ घण्टे लिखित स्पष्टीकरण

नेपालगन्ज २० मंसिर : भेरी अस्पताल नेपालगन्जका अध्यक्ष प्रमोद धितालसहित चार जनालाई पदबाट हटाउनु नपर्ने कारणसहित ७२ घण्टे लिखित स्पष्टीकरण सोधिएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगन्जको अस्पताल विकास समितिका अध्यक्ष तथा सदस्यहरुलाई उक्त स्पष्टीकरण सोधेको हो ।

सरकार परिवर्तनपछि आफु निकट ब्यक्तिलाई अस्पताल विकास समितिमा ल्याउन मन्त्रालयले अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल सहित समितीका सदस्यहरु कृष्णप्रसाद श्रेष्ठ, धनिराम ओली र सरस्वती मल्ललाई पदबाट हटाउनु नपर्ने कारणसहितको ७२ घण्टे स्पष्टीकरण सोधेको छ ।

मन्त्रीस्तरको यही मंसिर ७ गतेको निर्णय अनुसार मंसिर १३ गते स्पष्टीकरण सोधिएको हो । यद्यपी यो सूचना बाहिर आउँदासम्म स्पष्टीकरण सोधिएका समितिका अध्यक्षसहितका सदस्यहरुले लिखितरुपमा स्पष्टीकरण नबुझाएको बुझिएकोछ ।

यतिबेला एमालेबाट विभाजित नेकपा एसका नेता विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा छन् । अध्यक्ष धिताल र सदस्यहरु श्रेष्ठ र मल्ल नेकपा एमालेका भएपनि ओली भने गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रसँग सम्बद्ध छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोभिड रोकथाम र नियन्त्रण तथा अस्पताल विकासका लागि अहोरात्र खटिएको टोलीलाई मन्त्रालयले काम, कर्तव्य र अधिकार पुरा गर्न नसकेको भन्दै स्पष्टीकरण सोधेको हो ।

सरकार परिवर्तनलगत्तै राजिनामा दिनुपर्छ भन्ने मानसिकता बनाएका आफुहरुलाई सोधिएको स्पष्टीकरणको भाषाप्रति दुःख लागेको अस्पताल विकास समितिका एक सदस्यले बताए । उनले स्पष्टीकरणको विषयमा पार्टी नेतृत्वसँग परामर्श भइरहेको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल विकास समिति बाँकेका अध्यक्ष प्रमोद धितालसहित सदस्यहरु कृष्णप्रसाद श्रेष्ठ, धनिराम ओली र सरस्वती मल्ललाई लेखेको पत्रको ब्यहोरा यस्तो छ ।

मन्त्रालयका उपसचिव प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा लेखिएकोछ :

भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३(२)(घ) बमोजिम नेपाल सरकार (माननीय मन्त्रीस्तर)को मिति २०७७/४/०६ को निर्णयानुसार तपाई भेरी अस्पताल विकास समितिको अध्यक्ष/सदस्य पदमा मनोनयन गरिएको र गठन आदेश बमोजिम नै अस्पतालको व्यवस्थापन तथा सञ्चालन कार्यलाई प्रभावकारी बनाई सर्वसाधरणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व सुम्पिएको विषय अवगत नै छ ।

अस्पतालको सर्वाङ्गीण विकास, गुणस्तरीय सेवा र स्वास्थ्य सेवामा आम नागरिकको सरल एबम सहज पहुँच सुनिश्चित गर्ने गरी समितिलाई सोही गठन आदेशको दफा ७ बमोजिम काम, कर्तब्य र अधिकार स्पष्ट रुपमा तोकिएको नै छ । यद्यपि तपाईको नियुक्ति पश्चात हालसम्म अस्पताल विकास समितिको तर्फबाट भएको कामकारबाहीबाट अस्पतालको क्षमता बृद्धि, सेवा प्रवाहको प्रभावकारिता तथा अस्पताल प्रशासनको व्यवस्थापन र कामकारबाहीमा सहजीकरण हुन नसकेको आम गुनासो प्राप्त हुन आएको सन्दर्भमा तपाईले भेरी अस्पताल विकास समिति (गठा) आदेश, २०७६ को दफा ३ को उपदफा(१० मा उल्लेख भए बमोजिम अस्पताल विकास समिति गठनको उद्देश्य पुरा गर्न सोही गठन आदेशको दफा ७ मा उल्लेखित समितिको काम, कर्तव्य र अधिकार पुरा गर्न नसकेको हुँदा के कति कारणले गठन आदेशको उद्देश्य बमोजिम काम, कारबाही गर्न नसक्नु भएको हो ? अस्पतालको क्षमता विकास सरोकारवालाहरुसंगको समन्वय र आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्भावकारी भूमिका खेल्न नसकेको देखिएकोले तपाईलाई गठन आदेशको दफा ३ को उपदफा(४) बमोजिम पदबाट हटाउनु नपर्ने कारणहरु भए पत्रको मितिले ७२(बहत्तर) घण्टाभित्र लिखित रुपमा आफ्नो स्पष्टिकरण पेश गर्नुहुन नेपाल सरकार (माननीय मन्त्रीस्तर) को मिति २०७८/०८/ ७ को निर्णअनुसार अनुरोध छ ।