बाँके औंलोको उच्च जोखिममा, भेटिए ५२ रोगी


बाँके औंलोको उच्च जोखिममा,  भेटिए ५२ रोगी

नेपालगन्ज: सरकारले सन् २०२५ सम्म देशलाई औंलो रोगबाट मुक्त गर्ने अभियान चलाएकोछ ।‘आफैबाट सुरु गरौँ, औलोलाई शून्यमा पु¥याऔं’ भन्ने मूल नाराका साथ औंलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरान बाँके औंलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएकोछ ।

सामाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश नम्बर ५ स्वास्थ्य निर्देशनालयले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको औलो रोग सम्बन्धी अन्तरक्रियामा यस्तो तथ्य बाहिरिएको हो ।

निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईद्वारा प्रस्तुत तथ्यांकमा प्रदेश नम्बर ५ को बाँके जिल्लामा ५२ जना औलो रोगी रहेका छन् ।
औंलो रोग नियन्त्रणका लागि सरकारले चलाएको अभियानले औंलो रोगीका संख्या घटेपनि बाँके प्रदेशकै उच्च जोखिममा रहेको हो । सार्वजनिक तथ्यांकका आधारमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ औंलोको उच्च जोखिममा रहेको पाइएको छ ।

यस्तै सार्वजनिक तथ्यांकअनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नम्बर १, २ र ४, डुडुवा गाउँपालिकाको वडा नम्बर २ तथा नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ मध्यम जोखिममा रहेका पाइएकोछ ।

आर्थिक वर्ष २०७४-०७५ मा प्रदेश नम्बर ५ मा २ सय ३९ जना औलो रोगी थिए । भने आर्थिक वर्ष २०७५÷०७६ मा औलो रोगीको संख्या घटेर १ सय ८५ जनामा झरेको छ ।

तथ्यांक अनुसार प्रदेश नम्बर ५ का तीन जिल्लाका तीन वटा वडा अझै पनि मलेरिया (औलो)को उच्च जोखिम रहेका छन् । भने पाँच वटा जिल्लाका ३१ वटा वडा मध्यम जोखिममा रहेको पाइएको हो ।

जसअनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३, बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नम्बर २ र कपिलबस्तुको महाराजगन्ज नगरपालिकाको वडा नम्बर ४ अझै पनि औलोको उच्च जोखिममा रहेका छन् ।

प्रदेशमै औंलो रोगको तथ्यांकलाई हेर्दा कपिलवस्तुमा ४९ जना, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङ्गमा १०, अर्घाखाँची र नवलपरासी पूर्व ७–७ जना र पाल्पामा दुई जना गरी १ सय ८५ जना औलो रोगी रहेको कार्यक्रममा निर्देशक चापागाईद्वारा प्रस्तुत तथ्यांकमा जनाइएको छ ।
यस्तै बर्दियाको बाँसगढी नगरपालिकाको वडा नम्बर १, २ र ५, बारबार्दिया नगरपालिकाको वडा नम्बर ६, ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ र ३, दाङ्ग जिल्लाका बबई गाउँपालिकाको वडा नम्बर ५ र ७, राप्ती गाउँपालिकाको वडा नम्बर ९, शान्तिनगर गाउँपालिकाको वडा नम्बर ६ र तुलसीपुर नगरपालिकाको नगरपालिकाको वडा नम्बर ३ मध्यम जोखिममा रहेको तथ्यांकले जनाएको छ ।

त्यस्तै कपिलबस्तु जिल्लाको यशोधरा गाउँपालिकाको वडा नम्बर ६, मायादेवी गाउँपालिकाको वडा नम्बर १ र ६, बुद्धभूमी नगरपालिकाको वडा नम्बर ७, कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, महाराजगन्ज नगरपालिकाको वडा नम्बर ७ र १०, शिवराज नगरपालिकाको वडा नम्बर १० तथा रुपन्देही जिल्लाको कोठीमाई गाउँपालिकाको वडा नम्बर ७, शम्मरीमाई गाउँपालिका वडा नम्बर ४, देवदह नगरपालिकाको वडा नम्बर ९ र ११, सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर १ र ३ तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नम्बर ६ मध्यम जोखिममा रहेका छन् ।
औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घरवरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्टा खुल्टी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिकहरु सम्वेदनशील हुनुपर्ने निर्देशक चापागाईले बताए ।

उनले भने, ‘गर्मीको सिजन छ, औलो नआउँला भन्न सकिन्न । प्रकोप नै फेलिने अवस्था भने छैन । तर, सम्भावित हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि हामी तयारी अवस्था छौं ।’ उनका अनुसार औलो रोग लागेपछि काम ज्वरो आउने, शरीर रातो हुने लगायतका लक्षणहरु देखापर्ने पर्दछन् ।

‘यदि एक जनामा मात्रै औंलो देखियो भने निकै खतरा मानिन्छ । अन्य व्यक्तिहरूमा पनि सर्न सक्ने जोखिम उस्तै हुन्छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले भने, ‘बिरामी फेला परेका स्थानमा नियन्त्रणका लागि चेकजाँच अभियान पनि चलाउने गरेका छौं ।’ उनका अनुसार औंलो नियन्त्रणका लागि किटनाशक झुल पनि वितरण गरिरहेको जनाए ।

‘लामखुट्टेबाट जोगिने भरपर्दो उपाय झुल प्रयोग नै हो । त्यसैले औंलो देखिएको स्थानका स्वस्थ व्यक्तिमा रोग सर्न नदिन झुल वितरण गर्ने गरेका छौं,’ बरिष्ठ जनस्वास्थ्य प्रशासक चौधरीले भने, ‘बढी लामखुट्टे भएको स्थानमा विषादी पनि छर्दै आएका छौँ ।’ उनका अनुसार बिरामी फेला परेका घरबाट ५० मिटर आसपासका व्यक्तिको रगत परीक्षण र निगरानी समेत गर्ने गरिन्छ । लामखुट्टेले स्वस्थ व्यक्तिमा रोग सार्न सक्ने भएकाले सूक्ष्म तरिकाले निगरानी गरिन्छ ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश ५ स्वास्थ्य निर्देशनालयका रेडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.मदन कोइराला, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसी, स्वास्थ्य अधिकृत रामबहादुर चन्द, दुर्गा गौतम, पत्रकार तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।