बाँकेमा कोरोना संक्रमण शून्यमा झर्दै


बाँकेमा कोरोना संक्रमण शून्यमा झर्दै

नेपालगन्ज २२ मंसिरः कुनै बेला कोरोना भाइरस संक्रमणले ग्रसित बाँकेमा यतिबेला संक्रमणको दर शून्यतर्फ झर्दै गएकोछ । जिल्लामा कोरोना भाइरस विरुद्धको खोपको दायरा बढाइनु र स्वास्थ्य सम्बन्धि सजगता सर्वसाधरणमा बढ्दै जानुले बाँकेमा कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार हाल बाँकेमा जम्मा ७ जना मात्र कोरोना संक्रमित उपचाररत रहेकाछन् । जसमध्ये भेरी अस्पताल नेपालगन्जमा १ जना र होम आइसोलेसनमा ६ जना गरि कुल ७ जना मात्र निको हुन बाँकी रहेको पाइएको हो । कोरोना संक्रमित भइ अस्पताल तथा होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेकोछ ।

भेरी अस्पतालमा २०७७ साल भदौ ३१ देखि कोभिडका विरामीहरुको उपचार सुरु गरिएको थियो । त्योभन्दा अघि खजुरास्थित क्यान्सर अस्पतालमा कोभिडका विरामी भर्ना गरेर उपचार गर्ने गरिएको थियो । २०७७ बैशाख १९ गते पाइएको पहिलो केश खजुरा अस्पतालले भर्ना गरेको थियो ।

भेरी अस्पतालबाट चिकित्सकहरु पुगेर खजुरामा राखिएका बिरामीको उपचार र परामर्श गर्ने गरेका थिए । चिकित्सकहरुलाई आउजाउमा समस्या पर्ने स्थिति आएपछि खजुराको क्यान्सर अस्पतालमा रहेको कोभिड अस्पताल भेरीमा सारिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

दोस्रो लहरमा थेग्नै मुस्किल पर्नेगरी अस्पतालमा कोभिडका विरामी भर्ना भए । यहाँसम्मकी कोभिड वार्ड भरिभराउ भएर भेरी अस्पतालको गल्लीमा समेत बेड बनाएर विरामीको उपचार गरिएको थियो ।

बिरामी भर्ना दर न्यून भएपछि भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीहरुको धपेडी पनि घटेको छ । अस्पतालमा बिरामीको भर्ना दर घटेसँगै जोखिमको मात्रापनि कम हुदैँ गएको हो की भन्ने चिकित्सकहरु बताउँछन् । तर, पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम देखिएकाले सतर्कता अपनाउन भने चिकित्सकहरुको सुझाव छ ।

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न स्वास्थ्य सम्बन्धिको सम्पूर्ण मापदण्ड पालना गर्दै आफू र अरुलाई संक्रमणबाट बचाउन चिकित्सक बताउँछन् ।

यसैबीच, भेरी अस्पताल नेपालगन्जमा उपचाररत बर्दियाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार बर्दिया मधुवन नगरपालिका वडा नम्बर–७ का ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

मंसिर ४ गते बर्दियामा पीसीआर गरिएका उनलाई २१ गते भेरीमा ल्याइएको थियो । उपचारको क्रममा उनको मंगलबार राति १०ः३० बजे मृत्यु भएको छ । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४ सय ३५ पुगेको छ ।

यस्तै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार बाँकेमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६६ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना देखिएको छ । भेरी अस्पतालमा १६ जनाको परीक्षण गर्दा एकजना र बागेश्वरी ल्याबमा १५ जनाको परीक्षण गर्दा एक जनालाई कोरोना देखिएको छ ।

कोहलपुर मेडिकल कलेजमा ३५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन । बाँकेमा मंगलबार एक जना डिस्चार्ज भएका छन् ।