मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढ्यो


मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढ्यो

काठमाडौं - सरकारले चुरोट तथा सूर्तिजन्य पदार्थमा कर बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतिवडाले मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढेको जानकारी दिएका हुन्।

मन्त्री खतिवडाले जनस्वास्थ्यमा असर गर्ने मदिरा, चुरोट तथा सूर्तिजन्य पदार्थको कर बढाइएको बताए पनि कति बढाइयो भन्ने जानकारी भने दिएका छैनन्। उनले यी क्षेत्रमा थोरै कर बढाइएको बताएका छन्।

चालु आर्थिक वर्षमा सरकारले चुरोटका उत्पादन र बिक्रिमा प्रति खिल्ली २५ पैसा स्वास्थ्य जोखिम कर पनि लगाएको छ। विश्व स्वास्थ्य संगठनले सूर्तिजन्य पदार्थको कर ७० प्रतिशत भन्दा बढी हुनुपर्ने बताउँदै आएको छ। नेपालमा पनि संगठनले भने अनुसार नै कर बृद्धि गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ।

यसैगरी, सरकारले सबै सार्वजनिक स्थान र सवारी साधनमा धुमपान र मद्यपान सेवनलाई पूर्ण रुपमा रोक लगाउने भएको छ। संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।