नेपालगन्ज २५ मंसिर : योग समिति नेपालको अध्यक्षमा पुनः योग गुरु गिरीराज भट्टराई चयन भएका छन् । शनिबार नेपालगन्जमा सम्पन्न योग समिति नेपालको साधारणसभा तथा दोस्रो अधिबेशनबाट सर्वसहमितमा पुनः भट्टराई अध्यक्षमा चयन भएका हुन् ।
भट्टराईको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नव निर्वाचित कार्यसमिति उपाध्यक्षद्वयमा लोकमाया सुबेदी (सुमित्रा) र जगदिश तिमल्सेना, सचिवमा निर्माला शाह, सहसचिवमा शालिकराम खनाल, कोषाध्यक्षमा अम्बिका कोईराला र सहकोषाध्यक्षमा मन्दरा शर्मा चयन भएकाछन् ।
निर्वाचन समिति संयोजक बिश्वजित तिवारीका अनुसार कार्यसमिति सदस्यहरुमा जया चन्द, शर्मिला शाह, सरिता सिंह, ज्योति प्रसाद पौडेल, झबिलाल शर्मा र टंकनाथ पौडेले चयन भएकाछन् । यस्तै खिमानन्द अर्याल र चिरन्जीवि ज्ञवाली मनोनित सदस्यमा चयन भए । निर्वाचन समितिमा तिवारीसंगै अरुण कुमार सिंह र मेघनाथ ढकाले जिम्मेवारी निभाएका थिए ।
यसैबीच अधिवेशनको उद्घाटन शत्रमा बोल्दै बरिष्ठ आर्युवेद चिकित्सक बुद्धि प्रकाश रेग्मीले योग समिति बास्तविक रुपमा समस्यामा परेका र सहाराबिहिनलाई सहारा दिने काममा सक्रिय बन्नुपर्ने बताए ।
‘योग आफैमा सबैका लागि अनिवार्य नै छ, जसले योग गर्ने बानी बनाउँछ उसका लागि शारीरीक सक्रियतामा फलदायी साबित हुन्छ’, बरिष्ठ चिकित्सक रेग्मीले भने,–‘योग समिति नेपालले अरुलाई सहयोग गर्नका लागि कोष निर्माण गर्न आवश्यक छ ।’
कोषका लागि पहिलो सहयोग रकम समाजसेवी निल बहादुर शाक्यले दश हजार दिने घोषणा गरे । यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष एवं महासंघ बाँकेका पुर्व अध्यक्ष शुक्रऋषि चौलागाईले समितिले गर्दै आएको कार्यको सराहना गरे । उनले समितिको शुरुवाती चरणदेखि आफु जानकार रहेको र हरेक गतिबिधिलाई नजिकबा नियाल्ने अवसर प्राप्त भइरहेको र यसले समाजमा पुर्याएको योगदान उच्च रहेको बताए ।
उद्घाटन शत्रमा समितिका सल्लाहकारद्वय नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य र राजन बहादुर रानामगर लगायतले शुभकामना ब्यक्त गरेका थिए । यसैगरी साधारणसभाको अवसरमा कोरोना महामारीका समयमा समुदायस्तरमा जनचेतना फैलाउने एक दर्जन व्यक्तिहरुलाई सम्मान गरिएकोछ ।