नेपालगन्ज २७ मंसिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको १० हजार ४१६ पीसीआर र २ हजार ८२० जनाको एन्टीजेन परीक्षणका क्रममा ३४१ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ । कुल संक्रमितमध्ये ५ हजार ८२४ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३७६ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार १५४ पुगेको छ । उक्त अवधिमा ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ । हाल ९७ जना क्वारेन्टिनमा छन् । १२६ जना आइसीयू र ३३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १ लाख ८७ हजार ६६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।