नेपालगन्ज ३ पुष : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएका मुलुकबाट नेपाल आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित गरिएकोछ ।
अध्यागमन विभागले शुक्रबारमात्रै एक सूचना जारी गरी विभिन्न ६७ मुलुकबाट नेपाल आउँदा सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने सूचना निकालेको थियो । तर, एक दिन वित्न नपाउँदै शनिबार अध्यागमनले आफ्नो साइटमा एक सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।
निर्णय स्थगित गरिएको बारे कारण नखुलाइए पनि अर्को सूचना नहुँदासम्मका लागि विदेशबाट आउने यात्रुहरूले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने छैन ।
यसअघि शुक्रबारको सूचनामा मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार भन्दै जोखिमयुक्त मानिएका ६७ देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भनिएको थियो ।
ती देशबाट आएका यात्रुले आरटी–पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने छ । नतिजा नेगेटिभ आएपछि पनि ७ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र पोजेटिम रिपोर्ट आएमा भने तोकिएको आइसोलेसन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो ।
अफ्रिकन मुलुकबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ ।
स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ देशबाट नेपाल आउनेलाई अध्यागमनको सूचीमा अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्स छन् ।
प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ । नेपालमा पनि अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू निको भइसकेका छन् ।