नेपालगन्ज: बाजुराको कोल्टीबाट एक गर्भवती महिलालाई ‘एयरलिफ्ट’ गरेर शनिबार मध्यान्ह १२ बजे नेपालगन्ज ल्याएकोछ । बुढीनन्दा नगरपालिका–१, राउतबाडाकी २२ वर्षीय रमीला रोकायालाई सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगन्ज ल्याइएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा कोल्टीबाट ‘एयरलिफ्ट’ गराइएको हो । ‘गर्भवती महिला र बच्चाको ज्यान जोखिममा’ भन्ने खबर आउने बित्तिकै हेलिकोप्टर खोज्न थालेका हौं,’ मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले भने, ‘मध्यान्ह १२ बजे मात्रै कोल्टीबाट उद्धार गर्न सम्भव भयो ।’ उनले बताए ।
सुत्केरी हुने अवस्थामा पुगेकी रमीलाको पेटमा रहेको बच्चाले दिसा खाँदा भएको स्वास्थ्य जटिलताको थप उपचारका लागि ‘एयरलिफ्ट’ गरी नेपालगन्ज ल्याइएको बुझिएकोछ । गर्भवती रमीलाको पेटमा रहेको बच्चाको टाउकोसमेत ठूलो देखिएकोछ । कोल्टीमा प्रसुती सेवा दिन जटिल हुने देखिएपछि रमीलालाई नेपालगन्ज ल्याइएको हो ।
सामाजिक विकास मन्त्रालयले यसअघि पनि बझाङ र बाजुराबाट सुत्केरी महिलालाई ‘एयरलिफ्ट’ गरेर उपचारका लागि नेपालगन्ज र कोहलपुर लगिएको थियो । मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका सर्वसाधारणलाई स्वास्थ्यसम्वन्धी गम्भीर समस्या देखा परे ‘एयरलिफ्ट’ गर्ने नीति लिएको छ ।
सबैभन्दा पहिले २०७५ असारमा बझाङको थलारा गाउँपालिकाबाट २५ वर्षिया धुमा सार्कीलाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको थियो ।